विनायकद्वारा घिन्ताङघिसी नाच प्रदर्शन
- Post Date 2024-08-25 15:48:25
मध्यपुर ठिमी भक्तपुर
हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव र हाम्रो चिनारी : संस्कृतिको सम्मान, हाम्रो अभियान भन्ने नारालाई सार्थक पार्न हरदम लागि परेको शिक्षा ,संस्कृति र संस्कारको त्रिवेणीको रुपमा रहेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८१ भाद्र ९ गते घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो। स्थानीय पाठ्यक्रमको उद्देश्य अनुसार विद्यार्थीहरूमा सांस्कृतिक रूपान्तरण तथा चेतना जागृत गर्न र हरेक संस्कृतिहरुलाई समावेशी संस्कृतिका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो। विशेष गरेर गाईजात्रा पर्वको सेरोफेरोमा नेवारी समुदायमा अत्यन्तै लोकप्रिय नृत्यका रुपमा प्रदर्शन गर्दै र मनाइँदै आएको परम्परागत संस्कृतिक नृत्य घिन्ताङ घिसी जसलाई लठ्ठी डान्सको रुपमा पनि चिनिन्छ, विद्यार्थीहरुले विद्यालय परिसरबाट नाच्दै बालकुमारी मन्दिर सम्म र पुनः त्यहाँबाट बाहाखा बजार परिक्रमा गरी विद्यालय परिसरमै समापन गरिएको थियो। कक्षा ६ देखि १० सम्मका करिब ३०० जना विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरू सहभागी भएको उक्त नृत्य प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले आआफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सहभागी भई घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाएका थिए। विनायक इन्टरयाक्ट क्लबको तथा विनायक अतिरिक्त क्रियाकलाप शाखाको संयुक्त आयोजनामा प्रस्तुत गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले हरेक जातजातिको संस्कृतिलाई संरक्षण र सम्मान गर्न समावेशी घिन्ताङ घिसी नृत्य प्रदर्शनमा कार्यक्रममा सहभागी भएको बताएका थिए। समापन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरुलाई संस्कृतिको चिनारी गराउँदै सांस्कृतिक महत्व झल्काउन र संस्कृतिप्रतिको प्रेमलाई अझ सशक्त बनाउँदै प्रगतिशील सोचको रुपान्तरित शिक्षा प्रदान गर्न यी यस्ता कार्यक्रमहरु आयोजना गरिएको कुरा बताउनुभयो साथै सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा विद्यालय स्थापनाकालदेखि नै लागिपरेको कुरा बताउनुभयो। साथै सो घिन्ताङ हिसी नृत्य प्रतियोगिताका सहभागीहरूलाई सेवा नै ठूलो धर्म ठानी पानी पिलाउनु हुने प्रिज्मा सहकारी किसान सहकारी तथा ठिमी स्वावलम्बन सहकारी लाई विशेष धन्यवाद ज्ञापन समेत गर्नुभयो।
All Comments.......
Please Login/Register To Comments