सृजना प्रजापति
भक्तपुर जिल्लालाई अरनिको राजमार्गले चिर्दै दक्षिणको भूभाग सूर्यविनायक नगरपालिका बनेको छ । यो बाग्मति प्रदेशमा पर्छ र क्षेत्रफल ४२.४५ व.कि.मी. छ । जनघनत्व ३,२५० प्रति व. किमि. छ । 
२०७१ मंसिरमा कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल चार गा.वि.स. मिलेर यो नगरपालिका बनेको थियो । यही समयमा सिरुटार, गुण्डू, दधिकोट र बालकोट मिलेर अनन्तलिङ्गेश्वर नगरपालिका बनेको थियो । त्यसको तीनबर्ष पनि नबित्दै २०७३ फागुनतिर यी दुई नगरपालिका गाभेर सूर्यविनायक नगरपालिकाको रूपमा घोषणा गरियो । जहाँ नगरपालिका हुनुका आधारभूत पूर्वाधारहरु ख्याल गरिएन । यो समयमा नेपालमा थुप्रै नगरपालिका यसरी नै घोषणा गरिएको थियो । २०६८ सालको जनगणना अनुसार यहाँको जनसंख्या ७८,४९० थियो । हाल (२०७८) यहाँको जनसंख्या १,३७,९७१ छ । दश बर्षमा झन्दै दुई गुणा जनसंख्या पुगेबाट यस क्षेत्रको तिब्र शहरिकरण प्रष्ट्याउछ । 
भौगोलिक हिसाबले ठूलो यस नगरपालिकामा साठी प्रतिशत कृषियोग्य जग्गा र पच्चीस प्रतिशत जंगलमात्रै रहेको छ । भौगोलिक स्वरुप संरक्षणका हिसाबले यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ । तिमध्ये पहिलो वन जंगल र खोलानाला (प्राकृतिक हरियाली), दोस्रो कृषियोग्य जमिन (मानव निर्मीत वा खाद्य उत्पादन) र तेस्रो पुराना ग्रामिण बस्तिहरु हुन् । कुनै स्थानको विकास गर्नका निम्ति सुरुमा त्यस स्थानको भौगोलिक अवस्था बुझ्नु अत्यन्त जरुरी हुन्छ । ताकि सोही स्थानको भुगोल सुहाउँदो बस्ती बनाउन सकियोस् । नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशमा यस प्रकारबाट बस्ती विकास नगरिएमा भविष्यमा प्राकृतिक प्रकोपहरूको सिकार हुनुपर्ने हुन्छ ।
हाम्रा प्रायः ग्रामिण बस्तीहरू त्यसै प्रकारले बसाइएका हुन्थे । सूर्यविनायक नगरपालिकाभित्र पनि यस्ता थुप्रै ग्रामिण बस्तीहरु थिए । जुन नगरपालिकाले पहिचान गर्न सकेको छैन । विकासका नाममा जताततै बाटो र घर हुने खालका जग्गा विकास आयोजनाहरू संचालित छन् । दीर्घकालिन विकास योजनाहरु नबनाइँदा निकट भविष्यमै नयाँ नगरपालिकाले थुप्रै समस्याहरु सामना गनुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैकारण अहिले पनि समय छ आफ्नो नगरपालिकाको भौगोलिक पहिचान गरी सोही अनुरुपको दिगो विकास योजनाहरु बनाउन सम्बन्धित निकायको ध्यान जाओस् । 
यसै सन्धर्भमा कुरा गर्न ख्वप इन्जिनियरिङ्ग कलेजका स्नातकोतरका सम्पूर्ण विद्यार्थीहरु र विद्वान प्रोफेसरहरू २०७५ सालतिर सूर्यविनायक नगरपालिकाका मेयरज्यूलाई भेट्न गएका थियौ । तर विज्ञ प्रोफेसरहरुले आफ्नो अध्यापन गर्ने बिषय र ब्यक्त कुराको वास्तै नगरी मेयरज्यूले आफ्नै सरकार भएकोले आफैले बजेट व्यवस्था गर्नसक्ने भन्ने अविवेकी तर्क प्रस्तुत गर्नुभयो । यहाँ योजना समग्र सूर्यविनायक नगरपालिकाको थियो । तर आज पनि हामीले नगरपालिकाका योजना तथा बजेटका कार्यक्रममा बाटो सुधारबाहेक अरु प्राय देख्दैनौ । 
शहरी विकासका अवधारणाहरूकोबारे धेरै लामो लेख हुन जान्छ । यस लेखमा धेरै जनप्रतिनिधिलाई ध्यान नजाने तर सूर्यबिनायक नगरपालिकाको ग्रामिण बस्ती व्यवस्थित विकास गर्न नगरी नहुने कुरा यहाँ प्रस्तुत गर्दैछ ु। जुन भविष्यमा पर्यटकीय आकर्षणको मुख्य कारक बन्ने अवश्यम्भावी छ । अहिलेको परिवर्तित जीवनशैली र तीव्र शहरीकरणको कारण जीवनस्तर खस्किनुका साथै ग्रामिण सम्पदाहरूमा नकारात्मक प्रभाव पर्दैछ । पहिलेका ग्रामिण बस्तीहरु स्थानिय निर्माण सामग्री र स्थानिय वातावरण अनुकूल गरी विकास गरिएका हुन्थे । यस्ता थुप्रै वस्तीहरु भएता पनि स–साना समूहमा भएका कारण यसलाई खासै महत्व दिइँदैन । जसको कारण नगरपालिकाका मापदण्डहरू बनाइँदा ‘यी पनि सम्पदा हुन्’ भनी समेतिदैनन् । यस्ता ख्याल नहुने भौगोलिक स्वरूप संरक्षणका तीन प्रकारहरु यहाँ विस्तृतमा ब्याख्या गरिन्छन् । क्रमशः

...

All Comments.......


Please Login/Register To Comments