सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण २
- Post Date: 2024-08-28 14:52:40
(क) वन जंगल र खोला नाला (प्राकृतिक हरियाली)
२५ प्रतिशत जंगलले ढाकिएको यस नगरपालिकामा सूर्यविनायक जंगल, सुवर्णेश्वर जंगल र चित्तपोलका जंगलहरू पर्दछन् । सूर्यविनायक जंगल र यहाँको सूर्यविनायक गणेश मन्दिरबाट यसको नाम सूर्यविनायक नगरपालिका रहन गएको हो ।
यस नगरपालिकामा प्राय सबै जंगल बस्तीको दक्षिणतिर पर्छ । त्यसैकारण प्राय जंगल वरिपरिको भू–भाग ओसिलो छ । साथै यहाँ मूल फुटेर वा अन्य खोला दक्षिणबाट उत्तरतिर बग्छ । नभए प्राकृतिक रूपमा खोलाहरू उत्तरबाट दक्षिणतिर बग्नुपर्ने हो ।
भौगोलिक स्वरूप संरक्षणको कुरा गर्ने बेलामा यस क्षेत्रको जंगल संरक्षणको कुरा गर्नैपर्छ । यस नगरपालिकाको सम्पत्ति भन्नु नै यी प्राकृतिक हरियाली र आसपासका खुल्ला जग्गा (पर्ति) हो । जंगल र खोलासंगै ती पर्ति जग्गा पनि खुल्ला रुपमै संरक्षण गरिनुपर्छ । तर आजभोलि जंगल भएको पहाड नै काटेर बाटो बनाउने, अनि विभिन्न योजनाका नाममा पर्ति जग्गामा भवन बनाउने प्रचलन बढेको छ । साथै जथाभावी पहाड सम्याएर प्लटिङ गर्ने, पार्किङको लागि जग्गा सम्याउने, धर्मको नाममा आश्रमलाई दिने आदि कार्यहरू भइरहेका छन् । यस्तै प्रवृति बढ्दै जाने हो भने भविष्यमा पहिरो, भुक्षय आदि हुनसक्ने प्रवल संभावना छ । यहाँ नगरपालिकाले संरक्षणको नाममा अन्य संघ संस्थालाई दिने कार्य भइरहेको छ । सूर्यविनायक जंगलमा समेत चिडियाखाना बनाउने प्रस्ताव धेरै अघिको हो । यसको लागि अफिस भवन बनाउन वरपरको पर्ति जग्गालाई प्रयोग गरियो । साथै सुवर्णेश्वरमा पनि गणेशमान सिंह स्मृति पार्क बनाउने भनी दशौ वर्षदेखि ठाउँ ओगटेर बसेको छ । यसरी सरकारी जग्गाको भूभागहरु बिस्तारै मासिदैँ गएको देखिन्छ । यी नगरपालिकाको मात्र नभइ सरकारको समेत सम्पति हुन ्। जसले प्राकृतिक स्वरुपमा सुन्दरता थपिरहेका हुन्छन ्। यहाँको अग्लो पहाडमा रहेको जंगल र वरपरका बस्तीले भौगोलिक स्वरुपलाई सुन्दर बनाएका हुन् । त्यसैकारण यसलाई सकेसम्म जस्ताको तस्तै संरक्षण गर्नु नगरपालिकाको कर्तव्य हो ।
जंगल र खोला एक अर्काका परिपुरक हुन् । जंगल मासिए खोलामा पानि सुक्छ । खोला नभए पानीको समस्या हुन्छ । खोला मासिएमा बर्षातका बेला जमिनहरू दुबानमा पर्छन् । सूर्यविनायक नगरपालिकामा यस्ता समस्या हरेक बर्ष देखिन्छन् । कतै जमिन पोखरी बन्छन्, अनि बाटो खोला, त्यस्तै घरहरू समेत दुबानमा पर्छन् । त्यसैकारण बाढी र पहिरोले निम्त्याउन सक्ने समस्याका निम्ति वनजंगल र खोलानाला संरक्षणका कार्यहरु गरिनुपर्छ । जसरी प्राचिन सहरहरु (जस्तै भक्तपुर, बनेपा, काठमांडौ) मा ठूला पोखरी छन्, त्यस्ता पोखरी वा स–साना दहहरू समेत ठाउँ ठाउँमा बनाउन सकिन्छ । सूर्यविनायक नगरपालिकामा जम्मा ०.११ प्रतिशत खोल्साले ओगटेको छ । जंगलको संरक्षण र खोलाको सेटब्याक जोगाउन सकियो भने त्यही सुन्दर पार्कहरु बनाउन सकिन्छ ।
(ख) कृषियोग्य जमिन
सूर्यविनायक नगरपालिकामा साठी प्रतिशत कृषियोग्य जमिन छन् । भू–उपयोग नक्सांकन योजनाहरूको कमीले यी जमिनहरू धमाधम भवन र सडकले ढाकिदैछन् । शहरी विकासका व्यवस्थित योजनाहरू नभएका कारण छरपस्ट घरहरू कृषियोग्य जमिनमा ठडिदैछन् । सिमित जग्गा दलालीका हातमा जग्गा प्लटिङको काम परेको छ । जसको कारण समग्र नगरको आधारमा शहर विकास नगरी, आफ्नो फाइदाको लागि आधारभूत पूर्वाधार बिनाका अव्यवस्थित शहरहरू बन्न पुग्छन् । जहाँ पछि पूर्वाधार पु¥याउन अत्यन्तै कठिन र खर्चिलो समेत हुन्छ ।
कृषियोग्य जमिन व्यवस्थापन र सिमाङ्कन गर्न आप्ठेरो हुनुमा निजी जग्गा हुनु पनि हो । जसको कारण नगरपालिका वा सरकारले ब्यक्तिलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । र कृषियोग्य जमिनमा घर बनाउन बाट रोक्न सकिदैन । त्यसका लागि विशेष किसिमका योजनाहरु ल्याउनुपर्ने हुन्छ । जसबाट कृषकहरुलाई आफ्नो खेतमा कृषि गर्ने प्रेरणा मिलोस् । साथै कृषकहरुलाई आर्थिक, प्राविधिक सहयोग गरेर पनि प्रोत्साहन गर्न सकिन्छ । तर गा.वि.स.हरुलाई विना पूर्वाधार हचुवाको भरमा नगरपालिका घोषणा गरिनाले जनताहरु कृषि भन्दा अन्य व्यवसायतिर आकर्षित भइरहेको छ । साथै शहरीकरणको आकर्षणले पनि अर्थ उपार्जन र आधुनिकतामा बढी केन्द्रित हुँदैछन् । त्यसैकारण सूर्यविनायक नगरपालिकाका लागि कृषियोग्य भूमि संरक्षण एक ठूलो चुनौतिका रुपमा देखा पर्दैछ ।
(ग) ग्रामिण बस्तीहरु
साधारण तथा बस्तिलाई प्राकृतिक सुन्दरताले ढाकिएकोलाई ग्रामिण बस्ती भनिन्छ । सूर्यविनायक नगरपालिकाको पूराना ग्रामिण बस्तीहरु तीन प्रकारका छन् । ती थुम्कोका वस्ती, टारका वस्ती, बेसीका बस्ती हुन् । सूर्यविनायक नगरपालिकामा यस्ता थुप्रै बस्तिहरु छन् जसको आफ्नै खालको परिचय छ । तर यिनिहरुको संरक्षण गर्नुपर्छ भन्ने भावना अहिलेसम्म न नगरपालिकाको छ न त स्थानिय जनताको नै छ । यिनीहरू अपहेलित छन् । किनकि न यी विश्व सम्पदामा सूचिकृत छन् न त सरकार नै यसतर्फ आकर्षित छ । त्यसैकारण अधिकांश ग्रामिण बस्तीलाई आधुनिकताले छोपिदैछन् । =====
-
Shares
All Comments...
Please Login/Register to comment.