सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ३
- Post Date 2024-08-29 05:14:41
सृजना प्रजापति
ग्रामिण बस्तीको आफ्नै खालको सडक सञ्जाल हुन्छ (गोरेटोकै रुपमा भए पनि) । त्यस्तै बस्तीको परिचयको रूपमा दोबाटोमा चौताराहरू, पाटी वा केही खुल्ला चउरहरु हुन्छन् । ती चौतारामा वर पिपलका रुख हुन्थे । जसले स्वच्छ हावा प्रवाह गर्थे । जहाँ गाउँलेहरू भेला हुन्छन् । सार्वजनिक धाराहरू हुन्थे, कतै इनार पनि हुन्थे । यी स्थानिय सामग्रीले बनाइएका हुन्थे । कृषिका उत्पादन सुकाउन वा दैनिक जीवनशैलिका लागि आफ्नै आँगन हुन्थे । पशुपालनलाई गोठको छुट्टै प्रबन्ध हुन्थे । घरहरू प्राय दुइ÷तीन तल्ले, दुइपाखे छाना, पाली भएको हुन्थे । घर र बाटो, पर्खाल समेत स्थानिय सिप र सामग्रीले बनाइएका हुन्थे । मल÷मूत्रलाई समेत नर्कट घारी, बासघारीमा प्राकृतिक उपचार हुने गरी व्यवस्थित गरिएका हुन्थे ।
सूर्यविनायक नगरपालिकाका हरेक ग्रामिण बस्तीका आ–आफ्नै खालका विशेषता छन् । ती विशेषता पहिचान गरिनुपर्छ । साथै नयाँ बन्ने वा वरपरको विस्तारलाई सोही विशेषताका आधारमा विकास गर्न सकिएमा ती ऐतिहासिक हुने थियो । जसले पछि पर्यटन विकास र विश्व सम्पदा सूचीमा सूचिकृत गर्न समेत मद्दत पु¥याउन सक्थ्यो ।
यस नपामा भइरहेको तीव्र शहरिकरण, भू–उपयोग योजनाको कमी तथा अपर्याप्त मापदण्डका कारण नयाँ बस्तीहरू अन्धाधुन्ध प्रकारले बनिरहेको छ । यहाँ अहिलेसम्म पनि क्षेत्र–उप क्षेत्र विभाजन गरिएको छैन । जसको कारण अनियमित निर्माण बढ़ने अवश्यम्भावी छ । किनकि आवासिय क्षेत्र र व्यापारिक क्षेत्रमा एकै किसिमको नियम हुँदा व्यापारिक क्षेत्रहरुमा अनियमित रूपमा तल्ला थप्ने सम्भावना रहन्छ । अहिले नै अरनिको राजमार्गको दक्षिण यस नगरपालिकाका करिब सम्पूर्ण भवनहरु अनियमित निर्माण भइसकेका छन् । ती भवनहरू अनियमित मात्र नभइ भूकम्पिय दृष्टिकोणले समेत जोखिमपूर्ण हुने गर्छन् । किनकि तीन तल्लाको लागि नक्सा पास गरी कमजोर जगमा पछि छ–सात तल्ला बनाउने भयो । त्यसै कारण अर्वान डिजाइनर र अर्वान प्लानर सहितको विज्ञको टोली सहितको समिति बनाइ भू–उपयोग क्षेत्रहरू विभाजन गर्न निकै ढिला भइसक्यो। सहि खालका क्षेत्र विभाजन र पर्याप्त मापदण्ड बनाइ नयाँ बस्तिको जनघनत्व समेत नियन्त्रण गर्न सकिन्छ । जसले गर्दा पुराना ग्रामिण बस्तिहरु बचाउन तथा नयाँ र पुरानाको सन्तुलित विकास गर्न मद्दत पुग्छ ।
यस नगरपालिकामा सानादेखि मझौला खालको ४० भन्दा बढी आकर्षक ग्रामिण बस्तिहरु छन् । त्यसमध्ये केहीको छोटकरी र दुईटाको विस्तृत विशेषताको वर्णन ख्वप इ. कलेजका स्नातकोतरका विद्यार्थीहरूले गरेको रिपोर्ट (ख्वप इ. कलेज,२०७५) मा पढ्न सकिन्छ । अहिले पनि चित्रपुर, देउजा गाउँ, नंखेल, कटुञ्जे, गुण्डु, तार्खागालमा भिन्न विशेषताको बस्ती र केही घरहरू बाँकी छन् ।
All Comments.......
Please Login/Register To Comments