भरतकुमार श्रेष्ठको ‘अबको बाटो’ लोकार्पित
- Post Date: 2024-09-04 10:51:36
काठमाडौँ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि अनुपराज शर्माले हालै राजधानीमा आयोजित एक समारोहमा साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’ द्वारा सम्पादित ‘अबको बाटो’ शीर्षकको कृति लोकार्पण गर्नुभयो । विभिन्न सत्ताइस जना लेखकहरूद्वारा नेपालको अबको बाटो कस्तो हुने भन्ने विषयमा आधारित लेखरचनाहरू समेटिएको कृतिको लोकार्पण गर्दै कृतिको सफलताका निम्ति शुभकामना व्यक्त गर्नुभयो ।
कृतिको प्रकाशक शिखा बुक्स र दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा पूर्व मन्त्री प्रदीप ज्ञवाली, सांसद जीवन परियार, डा. उषाकला राई, प्रा. पुरुषोत्तम दाहाल, प्रा. डा. चन्द्रमणि अधिकारीलगायतले लोकार्पित कृतिमाथि टिप्पणी गर्दै प्रस्तुत कृतिले नेपालको समृद्धिका लागि मार्गनिर्देश गरेको चर्चा गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत गर्नुभएको सो समारोहमा कृतिका सम्पादक भरतकुमार श्रेष्ठले देशको चिन्ताले आफूलाई यस्तो कृति प्रकाशन गर्ने हुटहुटी चलेको उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति शिखा बुक्सका निर्देशक पुष्पराज पौडेलले महत्वपूर्ण कृति प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्दै कृतिकार श्रेष्ठको प्रशंसा गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव यादव भट्टराईले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । लेखक भरतकुमार श्रेष्ठ लामो समयदेखि बेलायतमा बस्दै आउनुभएको छ । सो अवसरमा कृतिमा लेखरचना समाविष्ट लेखकहरूलाई लोकार्पित कृति उपहारसहित सम्मान गरिएको थियो ।
-
Shares
All Comments...
Please Login/Register to comment.