भक्तपुर ः भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन बुधबार भक्तपुर नगरपालिकास्थित सुकुलढोकामा कार्यालय राखेर सेवा प्रदान गरिएको छ । 
गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर मंगलबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो । भक्तपुर नगरपालिकाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक गोविन्द पहारीले बताए । 
संघका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत २० गते बिहीबार लिवाली चोकस्थित एसएन मेटल वर्कसप परिसरमा, २३ गते आइतबार कमलविनायकस्थित बिग मार्ट परिसरमा, २४ गते सोमबार बाराही मन्दिरनजिक डोर कार्यालय रहने छ । त्यसैगरी, २५ गते मंगलबार सल्लाघारी चोङा गणेश मन्दिर तलको ढुंगेधारा पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ । 
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् । 
आफ्नै घरआँगनमा आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताए । गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ । 

...

All Comments.......


Please Login/Register To Comments