अर्जुन कोन्दा
अनामिकाको डायरीले मलाई टेबुलबाट हेरिरहेको छ । म भने पलङमा लम्पसार परेर पल्टिरहेछु । रातभरि के के सोचिबसेँ, कतिखेर सुतेँ थाहै भएन । झ्याल बाहिर हेर्दा झिसमिसे उज्यालो भइसकेछ । छिमेकीको घरमा रहेको रातो भालेले र्ककस आवाजमा चारपाँच चोटी बाँसिसकेछन् । म भने अझै सपनामै अल्झिरहेछु । 
पलङबाट उठेर फेरी मैले डायरीलाई नियालेर हेरेँ । डायरीको आवरणमा मनमोहक चित्र थियो – काठमाण्डौ उपत्यकाको जिवित देवी कुमारी । कालो मसीले मुनि लेखिएको थियो, अनामिका ।
हिजोको सपना अझै आँखामा झलझल नाचिरहेको छ । त्यो रंगीन नाचमा अनामिका कुण्ठित मुहार लिएर स्पष्टीकरण दिइरहेकी थिइन् । उनकी आमाले रोपेको संगीन प्रश्नको जवाफ दिन अनामिकाले किन मेरो सुत्ने कोठालाई कठघराको रुपमा प्रयोग गरिन्, भन्न सक्दिनँ । अदालतमा हुने पक्ष र विपक्षकोे जुहारी जस्तै मेरो कोठाको पलङ छेउ आएर अनामिकाले वादीको रुपमा आफ्नो भनाइ राखिन् । तर म भने छुट्याउन सक्दिनँ, उनी वादी हुन् कि प्रतिवादी? कुमारी आमा चाहेर बन्ने होइन भन्नेमा म विश्वस्त छु ।
बिहान ७ बजिसकेछ । चिया खान बाहिर निस्किएँ । पसलमा गन्थन चल्दै थियो । कोही भन्दै थिए, कलीयुगको सुरुवात । जोसमा होस् गुमाउँदाको नतिजा भन्ने पनि कम थिएनन्, पसलमा ।
नवजात शिशु फालिएकोमा सबैजना क्रुद्ध थिए । कोही भने छलफल गर्दै थिए, आखिर अनामिका कसरी आमा बनिन् ? चियाको गिलाससँगै टेबुलमा कान्तिपुर पत्रिका थियो, पत्रिकामा लेखिएको थियो,
“ फोहरको डङ्गुरमा नवजात शिशु फेला,
 छोरी रोएको हेर्न गएकी आमा पक्राउ ”
चियामा आज चिनी अलि बढी नै थियो । तैपनि किन किन चिया खल्लो लाग्यो । घर फर्कदा मेरो नजर फेरी उही आवरणले तानिरह्यो । आवरणमा देखिएकी कुमारी अनामिकाकै प्रतिरुप जस्तो लाग्यो । निधारमा रहेको रातो रंग, अनि रातो रङलाई पहेँलो रङले घेरा लगाएको देखिन्थ्यो । मलाई त्यो घेराको मिथक त थाहा छैन । तर त्यो पहेलो घेराले जीवित देवी कुमारीको मुहारमा सुन्दरता थपिएको भान हुन्थो । अनि तेस्रो आँखाले विशेष अर्थ राख्थ्यो । मनमा उत्सुकता लाग्यो, अनामिकाले किन कुमारी चित्र भएको आवरण नै छानिन् ? तलेजु भवानीको अवतार मानिने कुमारीमा रजस्वला सुरु नभएसम्म दुर्गा माता या तलेजु भगवानले बास गर्ने काठमाण्डाँैबासीमा विश्वास छ । सायद अनामिकाले पनि कुमारीको महत्वबारे सुनेकी हुनुपर्छ ।
१२ कक्षाको नतिजा आइसकेको हुँदा म अलि फुर्सदमै थिएँ । मलाई कहीँ जानु थिएन । त्यसैले मेरो ध्यान डायरीमै गयो । आमाको अनुमति बेगर डायरीलाई ओल्टाइ पल्टाई हेरेँ । डायरीका केही पाना च्याटिएका थिए । सायद डायरी नयाँ भएर होला खाली नै थियो । 
डायरीको पहिलो भित्री पेजमा सिसाकलमले कोरिएको कुमारीकै चित्र थियो । कुमारीको मुहारको आकृति भने अनामिकाकै अनुहारसँग मिलेको थियो । 
अचानक डायरीबाट केहि पानाहरु भुर्इृँमा खसे ।
निलो मसीले कोरिएका ती पानाहरुले मेरो ध्यान आकृष्ट ग¥यो । मैले तुरुन्त ती पानाहरु भुईँबाट टिपेँ । मैले आफूलाई ती पानामा भएका निला अक्षरहरु पढ्नबाट रोक्न सकिनँ ।
ती खसेका पानाहरुमध्ये पहिलो पाना अनामिकाको सुन्दर अक्षरहरुले भरिएको थियो । त्यो पानामा एउटा चिठी थियोे, जसको शीरमा लेखिएको थियो, प्रिय आमा , मलाई माफ गर ।
मनमा खुलदुली सुरु भयो । चिठीमा कुनै तिथि मिति उल्लेख थिएन ।
प्यारी आमा,
धेरै धेरै सम्झना,
मनको वह कहाँ पोखूँ, कसरी पोखूँ ?  भन्न सकिरहेको छैन । सानैदेखि तपाईको कोखमा लडिबुडी गरी हुर्केकी म कुमारी विद्यालय पुग्दा अनामिका भएँ । तैपनि दसैँमा मेरो कुमारी पुजा गरेको याद ताजै छ । तर आज आफ्नै जिवन चलचित्रको कहानी भएको छ । मेरो चलचित्रमा म कुनै नायिकाको भूमिकामा छैन । हुँ त केवल, अबला नारी ।
फोनमा बोल्ने आँट छैन । तन जोहोरमा छ, मन नेपालमा । म आत्माहिन शरीर लिएर नेपाल फर्कदै छु। जाँदा एक ज्यान भएकी म फर्कदा दुई ज्यान भएर फर्कदै छु । कारण आफैलाई थाहा छैन ।
मेरो कथामा म आफैलाई त विश्वास छैन भने हजुरलाई कसरी विश्वास दिलाऊँ ? यो समाजलाई म के भनूँ ? कहिलेकाँही लाग्छ, नारीको कुनै घर हुँदैन । आफू जन्मेको घर पनि आफ्नो हो वा होइन मलाई थाहा छैन। नभए मलाई बिहा नगरीकनै विदेश जान किन उक्साउनुभयो, मलाई थाहा छैन । अहिले आफ्नै घर फर्किदा पनि मलाई स्वागत गरिन्छ या गलहत्याइन्छ, थाहा छैन । किनकी मेरो आफ्नै घर छैन ।
जब म कुमारी आमा बन्न लागेको खबर तपाईले थाहा पाउनु हुनेछ, ममा बाँकी रहेको अन्तिम आशा पनि क्षणभरमा खरानी हुनेछ । म तपाईको लागि पराइ बनी सक्नेछु । मेरो कलंकित शरीरले हजुरको चैन हराउने छ । सायद मेरो लागि घरको द्धार पनि सधेैँको लागि बन्द हुनेछ ।
आमा, अहिले म न मर्न सक्छु न बाँच्न सक्छु । बाँच्ने इच्छा त छ, तर यो पुरुष सत्तात्मक समाजले मलाई बाँच्न दिदैन । मर्न खोजूँ मर्ने आँट पनि छैन । गर्भमा रहेको शिशुको कुनै दोष छैन र उसलाई सजाय दिन चाहन्नँ । तर उसलाई बचाउँदा म जिउन लायक रहन्नँ । किनकी म कसैलाई त्यो शिशुको बाउ देखाउन सक्दिनँ ।
म कसरी बलात्कृत भएँ, मलाई नै थाहा छैन । कुन पापीले मेरो अस्मिता लुट्यो, म भन्न सक्दिनँ । जे भएको छ, मेरो अन्जानमा भएको छ। 
म कसरी बताऊँ, मसँग शब्द नै छैन । म काठमाण्डौँबाट मलेसियाको क्वालालम्पुर  पुगेको पनि धेरै भएको छैन । काम नपाउला कि भन्ने मनमा डर थियो । केहि दिनमा काम पाएँ, खुशी भएँ । क्वालालम्पुरको पेट्रोनास ट्विन टावर हेर्न जाँदा स्वर्ग चुमेको भान भयो । सन् १९९८ देखि सन् २००४ सम्म संसारकै अग्लो करिब  ५०० फिट उचाइ भएको ८८ तल्ले डबल डेकर ब्रिज सहितको भवन हेर्न पाउँदा म खुशी नहुने त कुरै भएन ।
कामको सिलसिलामा मलेसियाको दक्षिणमा अवस्थित मलेसिया पेनिनसुलामा पर्ने जोहोर सहरमा आइपुगेँ । एजेन्टले स्थानिय एक होटलमा वेटरको काम मिलाइदिदा मन चंगा भो । यहाँ प्राय मुस्लिम धर्मालक्बी रहेछन् । उनीहरु मलाया भाषा बोल्छन् । मलाई भने मलाया भाषा आउँदैन । साहूजी अलि नेपाली भाषा बुझ्नु हुन्थ्यो । यसैले खासै गा¥हो भएन ।
तपाईहरुसँग फोनमा कुरा गर्दा खुशी लाग्थ्यो । अनि आमाबाबु सञ्चै छन् भनी थाहा पाउँदा झन् खुशीले गदगद हुन्थेँ । 
तपाईहरु नेपालमा नयाँ वर्ष मनाइरहँदा म तपाईहरुको तस्बीरले चित्त बुझाउँथे । मन त नेपाली नै हो नि, विदेशमा कसरी खुशी हुन सक्थेँ? बेला बेला मैले नेपाल फर्केको सपना देख्थेँ ।
अचानक महिनाबारी सरेजस्तो लाग्यो। समयमा महिनाबारी नहुँदा तल्लो पेट दुखिरहेको थियो । अर्को महिना पनि महिनाबारी भएन । पेट दुखि नै रह्यो ।अलि अलि मलाला भाषा बुझ्ने भएकी थिएँ । साहूनीलाई आफ्ना कुरा राखेँ । उहाँले मलाई अस्पताल लैजानुभयो ।  चिकित्सकले मेरो पेट सुनिएको र खानामा रुची नभएको थाहा पाए । अनि आमा बन्न लागेकोमा बधाई दिए । मलाई कसैले जिस्काएको जस्तो लाग्यो । म गर्भवती अरे । कुनै पुरुषसँग बोल्न पनि लाज मान्ने अनि बोल्नै परे एक कोश पर बसी जोगिएर हिड्ने म कसरी गर्भवती हुन सक्छु? होइन होला, मैले गल्ती गरेकै छैन ।  साहूनीले मलाई कर्के नजरले हेर्नुभयो । फेरी मलाइ बेस्सरी डर लाग्यो । म अझै डरले कामिरहेको छु । यस्तो पनि हुन सक्छ र? कसैले मलाई औषधीको प्रयोग गरी मेरो इज्जत लुटेको हुनुपर्छ । बल्ल मैले नारी हुनुको पिडा बुझेँ ।
अब म मलेसिया बस्न सक्दिनँ , आमा । म चाँदै नै नेपाल फर्कदै छु । म हजुरको अँगालोमा बेरिएर रुन चाहन्छु । मलाई माफ गर, आमा । म असल छोरी हुन सकिनँ ।
तपाईको उही छोरी
अनामिका (कुमारी)
चिठी टुङ्गियो तर व्यथा टुङगिएन । कथा अझै अपूरो लाग्छ । अनामिका आखिर गर्भवती कसरी भइन् ? सायद उनले चिठीमा आफ्नो कथा लेख्न सकिरहेका छैनन् । मैले अनामिकाका चिठीका पानाहरु डायरी भित्र राखेँ । फेरि हेरेँ, डायरीको अन्तिम पानामा लेखिएको रहेछ –मलाई न त मेरो समाजले बुझ्न चाह्यो न त मेरो परिवारले । बहाल कोठामै जन्माएको शिशुलाई अब कसले स्वीकार्छ ? म लोग्ने बिनाकोे कुमारी आमा ।

...

All Comments.......


Please Login/Register To Comments