भाद्र २२, भक्तपुर । सहलह बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी, भक्तपुर–७ अन्तर्गतको आयोजनामा भएको एकहप्ते उद्घोषण तालिमको समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका ७ नं. वडाका वडा अध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा भएको तालिममा २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथथि उकेश कवांले तालिम लिएको तालिमलाई प्रविधिमा जोड्नुपर्ने र तालिम लिएर आफ्नो मौलिकतालाई बिर्सन नहुने बताउनुभयो ।
उहाँले निरन्तर रूपमा आफूले सिकेको तालिमलाई अभ्यास गरिरह्यो भने अझ राम्रो हुने र सिकेको सिप निखारिने विचार व्यक्त गर्नुभयो । साथै उहाँले उद्घोषण तालिम लिनेले साहित्यको अध्ययनलाई पनि जोड दिनुपर्ने र लिएको तालिमलाई प्रविधिमा जोड्नुपर्ने पनि बताउनुभयो ।
सिद्धान्त छोडेको पार्टीले गर्दा नेपाली जनताले दुःख पाइरहेको र आजसम्म सरकारमा गएर शासन गरेका पार्टीहरूले नेपाली जनतालाई विदेश पठाएर देशका नागरिकलाई बेच्ने काम गरिरहेको बताउनुभयो ।
वि.सं.२०४५ सालको भक्तपुर काण्डलाई स्मरण गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्न षडयन्त्र गर्ने निरंकुश पञ्चायती व्यवस्था अन्ततः आफै नष्ट भएर गएको बताउनुभयो ।
उहाँले त्यसबेला सरकारले कक्षा ५ सम्म मात्र निःशुल्क शिक्षाको व्यवस्था गरेको अवस्थामा पनि भक्तपुर नगरपालिकाले कक्षा ७ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गर्नुहुँदै यदि जनता राजनीतिक रूपमा सचेत भएन भने आर्थिक, सामाजिक र सांस्कृतिक रूपमासमेत पछि पर्ने बताउनुभयो ।
सहलह बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार शिबनारायण ग्वाछाले तत्कालीस समयको उद्घोषणका घटना याद गर्नुहुँदै वर्तमान अवस्थामा सजिलै तालिम लिन सकिने बताउनुभयो ।
उहाँले निरन्तर गरिरहने प्रयासले आफूमा हुने डर हट्दै जाने पनि बताउनुभयो ।
प्रशिक्षक किरण सुवालले प्रशिक्षार्थीहरूले एक हप्तामा धेरै प्रगति गरेको र एक हप्तासम्म आफूले सिकेको तालिमलाई निरन्तरता दिनुपर्ने बतानुभयो ।
सहलह बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्याम तजलेले सबै प्रशिक्षार्थीहरूलाई बधाई दिनुहुँदै वर्तमान समयमा बचत गर्दा र ऋण कारोबार गर्दा चिनेको मान्छे र समुदायभित्रका सहकारीमा मात्र गर्नुपर्ने बताउनुभयो ।
२०८१ भाद्र १४ गतेदेखि सुरू भएको तालिम भाद्र २१ गतेसम्म भएको थियो भने समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम भाद्र २२ गते शानिबार भएको थियो । एक हप्तासम्म भएको उद्घोषण तालिममा किरण सुवाल, रामेश्वर मचामसी र धनेशराज राजोपाध्यायले तालिम दिनुभएको थियो ।
संस्थाका उपाध्यक्ष तथा आयोजक युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक एण्डिज ग्वाछाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समितिका सदस्य गंगाराम मचामसीले स्वागत मन्तव्य गर्नुभएको थियो भने युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य रमेश मचामसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसअघि प्रशिक्षार्थीहरूबाट नै बीचबीचमा कार्यक्रम सञ्चालन भएको थियो । प्रशिक्षार्थीहरू रविना कपाली, केशरीमैैंया ग्वाछा, रोशनी मचामसी, सुन्दर ग्वाछा, सुनिता प्रधान, सर्मिला न्याइच्याईं, जयप्रसाद ग्वाछा, सोनी लागे, रजल ग्वाछा र चण्डेश्वरी ग्वाछाले बीचबीचमा कार्यक्रम सञ्चालन गरेका थिए । त्यसका साथै प्रशिक्षार्थीहरू अनिल सुकुपायो, रहनशिला बासुकला, कल्पना तचामो, दिपिका कवां र लक्ष्मीकेशरी सितिखूले तालिमको अनुभव सुनाउनुभएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments