भक्तपुर । भक्तपुरको नगरकोट सडक निर्माण सम्पन्न गर्नमा ढिलाई भएको भन्दै स्थानीय पीडितहरुले आइतबार सडक विभाग सडक डिभिजन भक्तपुर कटुञ्जेमा धर्ना दिएका छन् । धर्नाका क्रममा कार्यालय प्रमुखसमेत कार्यालयमा नभेटिएपछि नाराजुलुशसमेत गरे् । 
विभिन्न नाराहरु प्लेकार्डमा बोकेर उनीहरुले विहान साढे १० बजेदेखि धर्ना सुरु गरेका थिए । नगरकोट सडक तत्काल बनाउन माग गर्दै सयौंको संख्यामा आएका स्थानीय पीडितहरुले नाराजुलुश गरेका थिए । 
ठेक्का पाएको निर्माण कम्पनी शैलुग कन्सटक्सन र त्यसका प्रोपाइटर शारदाप्रसाद अधिकारीका विरुद्ध पनि उनीहरुले नारा जुलुश गरेका थिए । उनीहरुले कार्यालयभित्र हुलडंगा गर्न खोजेपछि प्रहरी पुगेको थियो । प्रहरीले घटनालाई साम्य पारेको थियो । 
भक्तपुरको कमलविनायक भत्केकोपाटीबाट नगरकोटसम्म झण्डै १७ किलोमिटरको सडक अहिले पनि खाल्डाखुल्डी छ । सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित दुई वर्षभित्रमा सकाउने गरी सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो । सडकको भारतको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए । सम्झौताको ११ वर्षसम्ममा पनि सडकको काम नसकेपछि स्थानीय आक्रोशित भएका थिए । उनीहरुले शंख वजाएर ठेकेदारको मलामीसमेत लगेको बताएका थिए । 
सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ । दर्जन पटक वढी म्याद थप अनुसार अहिले असोज १५ गतेभित्र सकाउने गरी म्याद थप भएको डिभिजन सडक कार्यालय कटुञ्जे भक्तपुरले पीडितहरुलाई जानकारी गराए । यसक्रममा पीडितहरुले कार्यबाहक सडक प्रमुखलाई बाहिर ल्याएर घेराउसमेत गरेका थिए ।  
कुनै राजनीतिक दल, संघसंगठनबाट नभई स्थानीयहरु सामूहिक रुपमा धर्नामा आएका थिए । धर्नामा सहभागी सञ्जिवराज गिरीका अनुसार ३१ करोडको ठेक्कामा २९ करोड रुपैयाँं ठेकेदारलाई भुक्तान भइसकेको छ । भुक्तान भने झण्डै सवै भइसक्यो तर सडकको अवस्था मर्मत सम्भार सुरु गर्नुपर्ने जस्तो छ, उनले भने, बनाउन सकेको भनेको सडक बनाउन सुरु गर्नुपर्ने अवस्थाको छ । 
भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो । सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले दावी गरेको  छ । तर सडक भने दुरावस्थामै छ ।
धर्नामा सहभागी अर्का युवा मिसन लामिछानेले सडकका ठेकेदार सरकार भन्दा पनि बलियो देखिएको बताए । कांग्रेस, एमाले, माओवादी जुनसुकै पार्टीको प्रधानमन्त्री हुँदा पनि कुनै पनि सरकारले शैलुग कन्सटक्सन र उनका मालिका शारदाप्रसादमाथि कारवाही गर्न वा ठेक्का तोडन नसकेको बताए । यही कारण दुई वर्षमा सम्पन्न गर्ने योजनाका साथ सुरु भएको सडक ११ वर्षमा पनि नसकेर स्थानीय पीडित भएको उनको दुःखेसो रहेको छ । 

...

All Comments.......


Please Login/Register To Comments