भक्तपुर ः भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत पाँचौं दिन सोमबार भक्तपुर नगरपालिकास्थित बाराहीस्थानमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ । 
गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर गत मंगलबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो । नापतौल डोर कार्यक्रमअन्तर्गत बुधबार सुकुलढोकामा, बिहीबार लिवाली चोकस्थित एसएन मेटल वर्कसप परिसरमा, आइतबार कमलविनायकस्थित बिग मार्ट परिसरमा कार्यालय राखेर सेवा प्रदान गरिएको थियो । २५ गते मंगलबार सल्लाघारी चोङा गणेश मन्दिर तलको ढुंगेधारा पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ । 
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् । 
संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको बताए । भक्तपुर नगरपालिकाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक गोविन्द पहारीले बताए । 

...

All Comments.......


Please Login/Register To Comments