जीवनाथ अधिकारी 
मेरो नाम चेतकुमारी चित्रकार हो । मेरो घर भक्तपुरको याछें टोलमा पर्छ। मेरो हातमा अचानक दुखाईको समस्या देखा परेपछि मैले कति कष्ट भोगें भन्ने कुरा मलाई मात्र थाहा छ । तर एकजना सहदी व्यक्ति डा. इन्दुल केसीको नयाँ उपचार विधिबाट अहिले म उक्त पीडाबाट मुक्त भएर आनन्दले बस्न पाएकी छु ।
सुरुमा मलाई स्वास्थ्यमा केही समस्या थिएन । आनन्दले जीवन चल्दै थियो । तर मेरो दाहिने हातमा केही समस्या आई प¥यो । दिउँसोसम्म केही थिएन । बेलुका खाना खाएर सुतेँ । सुतेपछि एक निन्द्रा निदाएर विउझेपछि देब्रे हात दुखिरहेको रहेछ । जिउले थिचेर दुखेको होला भन्ठाने पहिला त । भोलिपल्ट विहान पनि त्यत्तिकै दुखिरह्यो । हप्तादिन जति कसैलाई पनि देखाइन । जिउले थिचेरै दुखेको होला भन्ने नै लागेको थियो । तर दुखाइ झन् झन् बढ्दै गयो । अनि झारफुक बैद्यलाई देखाएँ ।
उनले इन्द्रयणीमा पूजा गरिदिनु, जुठ्यानमा चामल राखिदिनु, क्षेत्रपालको पूजा गर्नु भने । देउता रिसाएर यस्तो भएको भन्ने कुरा गरे । हुन्छ भनेर सोही अनुरुप गरँे । जहाँ जहाँ पूजा गर्नु भनेको छ, जे जे गर्नु भनेको छ, त्यो सबै गरेँ । त्यसरी उनले एकहप्ता गरेर हेर्नु भनेजस्तै गरियो । एक हप्तासम्म पनि अलिकति पनि विसेक भएन । त्यसपछि बल्ल मेडिकल डाक्टरकहाँ गएर जँचाएँ । डाक्टरले मलाई औषधि दिनुभयो । एकहप्ता औषधि खाएर बाटो हेरें । तर एक हप्ता औषधि खाँदा पनि अलिकति पनि दुखाइ कम भएन । त्यसरी कम नभएपछि अब के गर्नु भनेर विचार गरँे । त्यसपछि फेरि झारफुक वैद्यलाई नै देखाएँ । उनले फेरि पनि कुमारीको पूजा गर्नु, आकाशदेवीलाई पूजा गर्नु भने । उनले भनेजस्तै पुजा पनि गरेँ । यसो गर्दा पनि अलिकति पनि दुखाइमा कमी आएन ।
झन्डै झन्डै एक महिनाजति म पूजाबाटै ठिक होला भनेर लागेँ । एक महिनासम्म पूजा गरेर फेरि एक हप्ता हेरेँ । त्यति गर्दा पनि केही लागेन । दुखाइ सहेरै बसिरहेँ । यसरी डाक्टर र झारफुक वैद्यकोमा एक महिनाजति धाउने काम भयो । डाक्टरले जति औषधि दिए पनि केही प्रभाव परेन । डाक्टरले नसा च्यापिएको, हड्डी खिएको छ भन्नुभयो । उहाँले दिएको औषधि खाँदा पनि विसेक भएन । यसरी डाक्टर, वैद्य देखाउँदा पनि केही फाइदा नभएपछि अक के गरौँ भनेर त्यत्तिकै दुखेको सहेर बसिरहेकीे थिएँ ।
यस्तै क्रममा एक दिन भक्तपुर नासमना टोल वडा नं. ४ निवासी डा. इन्दुल केसी मेरो घरमा आउनुभयो । त्यसअघि पनि उहाँ कहिलेकहीं काम विशेषले आउने गर्नुहुन्थ्यो । उहाँसँग केही पहिलेदेखि चिनजान थियो । त्यस दिन उहाँ मेरो भगवान भएरै घरमा आउनुभएजस्तै भयो । त्यस दिन पनि म अर्को हातले दुखेको हात माड्दै समातेर बसिरहेकी थिएँ । भित्रदेखि दुख्ने, कटकट खाने, चलाउनै नहुने हुन्थ्यो । दुख्न थालेपछि सुत्दा पनि सो हात लमतन्न पारेर सुत्नुपथ्र्याे । पर राख्नुपथ्र्याे । उहाँ आउँदा म हात माड्दै थिएँ । उहाँले तिम्रो हात के भो भनेर सोध्नुभयो । के भो के भो दाई, दुखेर मर्न लागँे । सुत्न पनि सकिँदैन भनेर बताएँ । यस्तो भएको कति भयो भनेर उहाँले सोध्नुभयो । महिना दिन नाध्न लाग्यो भने मैले । के के गरेको त उपचार भनेर सोध्नुभयो । उहाँ उपचारक हो भन्ने कुरा मलाई थाहा थिएन । झारफुक वैद्य, डाक्टरलाई पनि देखाएको तर केही नभएको सुनाएँ उहाँलाई । बरु झन् झन् दुखाई बढ्दै गरेको छ भनेँ । उहाँले यता आऊ त भनेर नजिकमा बोलाउनुभयो । उहाँको नजिक गएँ म । उहाँले दुखेको हात छामेर हेर्दै अहिलेलाई केही गर्दिन । भरे बेलुका आउँछु भन्दै रातो माटो छ कि छैन घरमा भनेर सोध्नुभयो । रातो माटो त घरमा सधैं प्रयोग गरिन्थ्यो, धेरथोर हुन्थ्यो नै । विहान विहान घर पोत्न यही रातो माटो काममा आउथ्यो । मैले छ भनेपछि उहाँले त्यसलाई पिसेर मैदाजस्तो मसिनो बनाएर भिजाइराख्न भन्नुभयो । साथै सेतो नरम कपडा पनि ठिक गरिराख्नु भनेर उहाँ घर जानुभयो । अनि बेलुका आउनुभयो । मैले उहाँले भने बमोजिमको व्यवस्था गरिसकेकी थिएँ । तर रातो माटो र सेतो कपडाले के गर्ने होला भन्ने मेरो मनमा लागिरहेको थियो । साढे सात तिर बेलुका सामान ठिक पार्यौ त भनेर सोध्नुभयो । माटो भिजाएकै थिएँ, सेतो सुतीको नयाँ सफा कपडा पनि तयार पारेकी थिएँ । त्यसपछि अलिकति चामल पनि एउटा थालमा राख भन्नुभयो । केही फूल ल्याउन र धुप सल्काउन लगाउनुभयो । केही चामल थालमा राखियो । डा. केसीले त्यो भिजाइएको माटो मुछ्नुभयो । त्यसपछि मुछेको माटोलाई उहाँले पूजा गर्नुभयो भने मलाई पनि गर्न लगाउनुभयो । त्यो चामल मेरो छोरालाई कौसीमा लगेर राख्न लगाउनुभयो । त्यो मुछेको माटोलाई स–साना डल्ला बनाएर मेरो दुखेको हातमा जहाँ जहाँ बढी दुखेको छ, त्यस त्यस ठाउँमा ती डल्लालाई च्याप्टो पारेर राख्नुभयो । पूरै हातभरि राखेको होइन । यसरी कुमदेखि कुहिनासम्म दुखेको ठाउँमा मात्र माटाका च्याप्टा डल्ला राखेर सेतो कपडाले बाँधिदिनुभयो । सो कपडाले बाँधिएका ठाउँमा फेरि उहाँले पूजा गर्नुभयो र मलाई पनि गर्न लगाउनुभयो । त्यसपछि भोलिसम्म हेर्नु, कति कम हुन्छ कि हँुदैन, ख्याल गर्नु भनेर अह्राउनुभयो । त्यसपछि उहाँ घर जानुभयो ।
राति एक निन्द्रा सुतेर विउँझिदा मलाई कता कता केही हलुङ्गो भएको वा दुखाइमा केही कमी आएको हो कि जस्तो महसुस हुन लाग्यो । हात हलका जस्तो अलिअलि चलाउन सजिलोजस्तो लाग्यो । विहान हुँदासम्म सहन सक्ने भएका जस्तो भयो । हात चलाउन पनि केही सहज अनुभव भयो । यसरी हेर्दा दुखाइ कम भएकै हो त्यस बेला । तर माटो सुकेपछि विस्तारै धुलो झर्न थाल्यो । चार दिनपछि फेरि उहाँ आउनुभयो कस्तो छ भनेर सोध्नुभयो । त्यो दिनमा मलाई दुख्न धेरै नै कम भइसकेको थियो । चार दिनपछि विहान उहाँ आउँदा अर्को माटो भिजाइराख्न र सो कपडा धोएर सफा पार्नु बेलुका फेरि उपचार गर्नुपर्छ भन्नुभएको थियो । मैले सोही अनुरुपम तयारी गरें। । साँझ उहाँ आएर पहिलेकै प्रक्रिया पूरा गरेर त्यसै गरी माटाका च्याप्टा डल्ला राखेर कपडाले बाँधेर छोड्नुभयो । यसरी तीन दिनमा तीनचोटि उहाले रातो माटाले उपचार गर्नुभयो । दोस्रो पटकको माटो झिक्ने बेलासम्ममा नै मलाई पूरै ठिक भएजस्तो भइसकेको थियो । कतै पनि दुखेको अनुभव थिएन । तीन पटक यो काम गरिसकेपछि अहिलेसम्म फेरि गर्नुपरेको छैन । एक पटक पनि दुखेको छैन अहिलेसम्म मेरो हात दायाँबायाँ तलमाथि जता पनि जान्छ, सजिलै । कुनै अप्ठ्यारो भएको छैन । कटकट खाने पनि हरायो, जता चलाउन पनि भएको छ भने बल्झिएको पनि छैन ।
झारफुक गर्ने बैद्यले त्यत्रो गरेको, डाक्टरले पनि उपचार गर्दा अलिकति पनि बिसेक नभएको तर डा. इन्दुलको उपचारपछि पूरै निको भयो । उहाँले पूजा पनि गराउनुभएको छ । यो हेर्दा देउता मानेर गरेको हो कि जस्तो पनि देखिन्छ तर रातो माटोको प्रभाव भने प्रत्यक्ष देखियो । कुन देउता मानेको, कुन देउताको पूजा गराएको भन्ने त थाहा भएन, तर मलाई भने दुखाइ चट्ट नै भयो ।
दुखे दुखेका ठाउँमा रातो माटाका च्याप्टा डल्ला राखेर सेतो कपडाले बाँढ्दा धेरै साह्रो कस्नुभएको थिएन, माटो नखस्ने गरी बाँध्नुभएको थियो । धेरै खुकुलो पनि थिएन । ठिक्कको बँधाइ थियो ।
सुरुमा गिलो माटो हातमा लगाएर कपडाले बाँधेर उपचार गरेको देख्ता कता कता अलि असहजजस्तो त लागेको थियो, निको हुन्छ होला भनेर । यो नौलो विधि देख्ता भित्री मनमा आत्मविश्वास भने जागेको थियो ।
मलाई यसरी डा. इन्दुलले उपचार गर्नुअघि अरुलाई उपचार गरेको मेरो जानकारीमा थिएन । तर धेरैले यस्तो उपचार पाइसकेका रहेछन् भन्ने कुरा पछि विस्तारै थाहा हुँदै गयो । मेरा श्रीमान्लाई पनि यसरी पनि उपचार हुँदो रहेछ भन्ने जानकारी रहेनछ । उहाँ पनि अचम्ममा पर्नुभयो यस्तो चामत्कारिक उपचार पद्धति देखेर ।
केही समयआगडि मेरा खुट्टा दुखेर हिँड्नै नसक्ने भएकी थिएँ । डा. इन्दनले पानी तताएर सेक्न लगाउनुभयो । तातो पानीमा कपडा चोप्दै दुखेको ठाउँमा लगाउने गरेपटि ठिक भयो । सकी नसकी हिँड्ने पनि गरेँ ।  अहिले तन्दुरुस्त भएर सजिलै हिँड्न सक्ने भएकी छु । 
यस्तो नौलो विधिबाट उपचार गर्ने डा. इन्दुल केसीलाई भित्रदेखि आभार प्रकट गर्छु । यस्ता समस्या अहिले धेरै मानिसमा देखिएका छन् । यस विधिलाई विश्वास गर्नेहरुले डा. इन्दुलबाट उपचार गराई स्वस्थ जीवन बाँच्न अनुरोध गर्दै सल्लाह पनि दिन्छु । यो माटोका माध्यमबाट उपचार गर्ने तरिका, तातो पानी सेक गर्ने हाम्रो मौलिक प्राकृतिक उपचार पद्धति रहेछ । यसलाई किन प्रयोगमा नल्याउने हाम्रो परम्परागत वैकल्पिक प्राकृतिक उपचारविधिलाई गर्दै प्रचारप्रसार गर्न सके निश्चय नै नेपाली मौलिक उपचार पद्धतिको संरक्षण हुने कुरामा विश्वस्त रहन सकिन्छ ।
(भक्तपुर नगर याछेँ टोल निवासी चेतकुमारी चित्रकारसँगको कुराकानीमा आधारीत)


...

All Comments.......


Please Login/Register To Comments