भक्तपुर ः चाँगुनारायण नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा चाँगुनारायण नगरपालिकामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट १०२ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् । 
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले जिल्लास्थित चाँगुनारायण नगरपालिकाका ५ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन गत बुधबार दुवाकोटमा, बिहीबार झौखेलमा, शुक्रबार सुडालमा, आइतबार नगरकोटमा र सोमबार ताथलीमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरिएको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताए ।  
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै जिल्लामै डोर कार्यक्रम सञ्चालन हुँदा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने समय बचत भएको बताइन् । उनले डोर कार्यक्रमबाट चाँगुनारायण नगरपालिकाका व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताइन् । 
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यातले नापतौलका सामग्रीहरु व्यापारी व्यवसायीहरुको महत्वपूर्ण सामग्री रहेको बताउँदै नापतौलका सामग्रीहरु समयमै दर्ता तथा नवीकरण गराई जरिवानाबाट बच्नुपर्नेमा जोड दिइन् । नगरपालिकाका विभिन्न स्थानमा नापतौल डोर कार्यक्रम सञ्चालन हुँदा स्थानीय व्यापारीहरुले आफ्नै ठाउँमा सेवा प्राप्त गरेको भन्दै उनले आगामी वर्षहरुमा पनि यसरी नै नापतौल डोर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । 
चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन गर्नुअघि भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिकाका विभिन्न ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको थियो । 
यसैबीच, सूर्यविनायक नगरपालिका र संघको सहकार्यमा मंगलबारदेखि सूर्यविनायक नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन हुने भएको छ । मंगलबार र बुधबार सूर्यविनायकस्थित लक्ष्मी मार्केटमा तथा बिहीबार र शुक्रबार गाम्चा चोकमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments