भक्तपुर ः सूर्यविनायक नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सूर्यविनायक नगरपालिकामा मंगलबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ । 
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन सूर्यविनायकस्थित लक्ष्मी मार्ट परिसरमा कार्यालय राखेर सञ्चालन गरिएको डोर कार्यक्रममा ४९ जना स्थानीय व्यवसायी, व्यापारीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गराएको संघले जनाएको छ । संघका अनुसार सूर्यविनायक नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत बुधबार पनि सोही स्थानमा तथा बिहीबार र शुक्रबार गाम्चा चोकमा डोर कार्यालय राखेर टोलीले सेवा दिइनेछ । 
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् । 
संघका कोषाध्यक्ष एवं संघअन्तर्गतको बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले व्यापारी व्यवसायीहरु नजिकै आफूलाई पायक गर्ने स्थानमै आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा खुसी भएका छन् । नापतौल डोर कार्यक्रमबाट व्यापारी व्यापारीहरु नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए । 
गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक पवन चन्दले सूर्यविनायक नगरपालिकाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको जानकारी दिए । 
यसअघि भक्तपुर नगरपालिका र संघको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिकाका विभिन्न ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको थियो । उक्त डोर कार्यक्रममा २१४ जना व्यापारी तथा व्यवसायीहरुले सेवा लिएका थिए । यसैगरी, चाँगुनारायण नगरपालिका र संघको सहकार्यमा चाँगुनारायण नगरपालिकाका ५ स्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १०२ जना व्यापारी तथा व्यवसायीहरु लाभान्वित भएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments