भट्टराईकृत 'समयका डोबहरू' कथासङ्ग्रहको विमोचन
- Post Date 2024-09-30 16:00:48
माधव घिमिरे 'अटल'
प्रगतिवादी साहित्यकार यदुनाथ भट्टराईको 'समयका डोबहरू' कथासङ्ग्रह गत शनिबार चितवनको भरतपुरमा लोकार्पण गरिएको छ ।
अकल्पनीय प्राकृतिक महाविपत्तिबीच विमोचन गरिएको कार्यक्रममा साहित्यकार तथा साहित्यानुरागीहरूको सघन उपस्थिति थियो । सो कार्यक्रमका प्रमुख अतिथि प्रगतिवादी साहित्यकार तथा भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले कृति वैचारिक र समकालीन सामाजिक चरित्र चित्रणका हिसाबले उत्कृष्ट छ भन्दै कथासङ्ग्रहले भुइँमान्छेको आवाज बोकेको जिकिर गरे । यस्ता कृति कालजयी बन्ने उनको भनाइ थियो ।
प्रमुख वक्ताका रूपमा निम्त्याइएका उदय अधिकारीले कृतिको रौँचिरा केलाउँदै सङ्ग्रह मानवीय सम्वेदना उजागर गर्ने औजार भएको दाबी गरे । आर्थिक र सामाजिक ढङ्गले पिछडिएको वर्गको आवाज बोकेको यस सङ्ग्रहमा भाषाशैली अत्यन्त मिठासपूर्ण रहेको उनको अभिमत थियो ।
मानवीय सम्वेदनाको विविध क्षेत्र ओगटेको बताउँदै अधिकारीले भट्टराईको खुलेरै प्रशंसा गरे ।
विमर्शकै क्रममा डा. धनेश्वर भट्टराईले लेखकको पहिलो कृतिदेखि नै प्रभावित भएको बताउँदै जीवनका अनेकानेक कोण-प्रतिकोणबाट कृतिलाई केलाइनु सबल सिर्जनात्मक शक्ति भएको अभिमत जाहेर गरे ।
विशिष्ट अतिथि रामहरि श्रेष्ठले 'सुखीराम एक्लै कैलासपुर आइपुग्यो' र 'मानव कङ्काल' कथाले त आफ्नो आँखा नै रसाएको दाबी गरे ।
त्यस्तै प्रकाश चापागाईले कृतिले सफलता पाउने भविष्यवाणी गरे भने विदुर अधिकारीले छन्द कविता वाचन गरी समारोह सफलताको शुभकामना टक्र्याए। उता कपिल अज्ञातले साहित्यको मर्म उल्लेख गरे ।
कार्यक्रममा डा. होमनाथ सापकोटा, डा. कर्ण बानियाँ, होमनाथ घिमिरे, विपिन पाठक, सञ्जीव पौडेलको गरिमामय उपस्थिति थियो ।
All Comments.......
Please Login/Register To Comments