भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी  संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा शनिवार संस्थाकै प्राङ्गणमा सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् राजनीतिविद् नारायणमान विजुक्छेँ(रोहित)ले कार्यक्रमको उद्घाटन गर्नुहुँदै अधिकांश सहकारी ध्वस्त हुनुमा सरकार दोषि भएको बताउनुभयो । सहकारी संस्थालाई सरकारले व्यापारिक संस्था बनाउन खोजेको बताउँदै उहाँले सहकारीहरुले सामाजिक दायित्व बहन गर्नुपर्ने बताउनुभयो । भक्तपुर आदर निकेतन सञ्चालन हुनु राम्रो पक्ष भएको बताउँदै उहाँले ज्येष्ठ नागरिकलाई ससम्मान व्यवस्थित रुपमा स्याहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरुले कृषि र माछापालनजस्ता कार्यमा प्रोत्साहन गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । सहकारी संस्थालाई पहिल्यैदेखि राष्ट्र बैंकको निगरानीमा राखेको भए सहकारीमा त्यति धेरै क्षति नहुने उहाँको भनाइ छ । स्थानीयबाहेकले सञ्चालन गरेका व्यावसायिक सहकारीहरुले जनताको बचत कुम्ल्याएको बताउँदै उहाँले ठूला राजनीतिक दलको संरक्षणले सहकारीका अपराधीहरुलाई प्रोत्साहन मिलेको बताउनुभयो । उहाँले भक्तपुरका सामुदायिक सहकारीहरु जस्तै अन्त चलाउन नसकेको बताउँदै अन्य जिल्लाका मानिस भक्तपुरबाट सिक्न लालायित रहेको बताउनुभयो । नाचगान र कला संस्कृति हाम्रो सम्पत्ति भएको बताउँदै यसको संरक्षण निरन्तर हुनुपर्ने उहाँको कथन छ । यसमा सहकारी संस्था र नगरपालिका लागिरहेको उहाँले बताउनुभयो । सरकारले बहुसंख्यक जनताको हितमा कुनै नीति नबनाउने भएकोले उहाँले यो सरकारलाई अन्धो सरकारको संज्ञा दिनुभयो ।
वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले सुख दुःखका साथी सहकारी भएकोले आफ्नो पैसा सुरक्षित भएको नभएको बारे सदस्यहरुले एकिन गर्नुपर्ने बताउनुभयो । उहाँले जीवनयापन सजिलो बनाउन, आर्थिक एवम् सामाजिक रुपमा सहज बनाउन सहकारीको आवश्यकता हुने बताउँदै सहकारी संस्थाले आर्थिकसँगै सामाजिक, सांस्कृतिकलगायतका क्रियाकलापहरुलाई सामाजिक दायित्व र जिम्मेवारीको रुपमा कार्य गर्नुपर्ने बताउनुभयो । प्यालेस्टाइन र इजरायलको युद्धले प्यालेस्टाइनलाई निकै क्षति गरेको बताउँदै उहाँले अन्यायमा परेको प्यालेस्टाइनी जनताको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो । अन्तरराष्ट्रिय रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीको विरोध भइरहेको बताउँदै उहाँले मानवअधिकारको हनन गर्नेबाटै मानवअधिकारको रक्षाको कुरा गरिरहेको बताउनुभयो । 
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले राजनीतिक पार्टीहरुको बेइमानी र संरक्षणले सहकारीको छवी बदनाम भएको बताउनुभयो । सहकारीहरुको मातहतका निकायहरुले समस्या आएपछि मात्रै निर्देशन जारी गर्ने तर अनुगमन तथा निरीक्षण नहुँदा झन समस्यामा आएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले सहकारी अभियानलाई निरन्तर साथ र सहयोग गर्नुपर्ने बताउँदै जिल्ला संघको सेवा सुविधाबारे जानकारी दिनुभयो ।
संस्थाका सल्लाहकार कृृष्णप्रसाद धन्छाले यस सहकारीमा नयाँ प्रविधि, सफ्टवेयर र मोबाइल बैंकिङ एप्स लागु भएकाले त्यसबाट कारोबार गर्दा हुने सुरक्षा खतरालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीमा छुट्टै अनुसन्धान विभागको स्थापना गर्नुपर्नेमा जोड दिँदै ख्वप कलेज, वागीश्वरी कलेज लगायतसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य मन्दरा मिश्रले सहकारीहरुमा आएको विकृतिले अन्य सहकारीलाई समेत अठ्यारोमा पारेको बताउँदै समुदायमा आधारित सहकारीहरुले जुनसुकै समस्याको सामना गरी अघि बढ्न जोड दिनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले स्वागत, सहसचिव तारादेवी धन्छाले धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त साधारणसभामा प्रमुख अतिथि विजुक्छेँबाट युवाकवि दामोदर सुवाल र संस्कृतिकर्मी पंचलाल लाछिमस्युलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, दोसला र मायाको चिनोे प्रदान गरी सम्मान गर्नुभएको थियो । सचिव जगनाथ प्रजापतिले सञ्चालन गरेका उक्त कार्यक्रममा विभिन्न गीत संगीतको प्रस्तुति भएको थियो ।
दोस्रो चरणको बन्दसत्रबाट कोषाध्यक्ष राम प्रसाद प्रजापतिद्वारा प्रस्तुत आ.व.२०८०÷०८१ को सञ्चालक समितिको प्रगति प्रतिवेदन र आयव्यय विवरण तथा आ.व. २०८१÷०८२ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वद्वारा प्रस्तुत आ.व. २०८०÷०८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, वाह्य लेखा परीक्षक बि.आर.बि.एस.एण्ड एसोसिएट्सद्वारा प्रस्तुत आ.व. २०८०÷०८१ को बाह्य लेखा परीक्षण प्रतिवेदन, आ.व. २०८१÷०८२ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको पुनर्लिखित विनियम २०८१, आ.व २०८०÷०८१ का लागि १८ प्रतिशत शेयर लाभांश प्रदान गर्ने लगायतका १२ वटा प्रस्ताव पारित गरेको संस्थाका सचिव जगनाथ प्रजापतिले बताउनुभयो । 

...

All Comments.......


Please Login/Register To Comments