चन्द्रमान प्रधान श्रीमती सावित्री राणा केसीको जन्म २००३ साल मङ्सिर ३० गते शुक्रबार भई यस इहलोकमा ७७ वर्षको जीवनलीला भोगी २०८० असोज २१ गते आइतबार जीवनलीला त्यागी परमधाम जानुभयो । 

 सावित्री राणा केसी बुबा बिग्रेडियर जनरल लक्ष्मी शमशेर जङ्गबहादुर राणा र आमा विष्णुकुमारीको कोखबाट जन्मनुभएको थियो । राणा परिवारमा जन्म भएकी सावित्रीको मागी विवाहका रूपमा डा. इन्दुल केसी (भक्तपुर) सँग २०२४ साल असार २४ गते भएको थियो । 
उहाँको सन्तानका रूपमा छोरा उज्वल केसी र छोरीहरू रजनी केसी र सजनी केसी र नातिनातिनाहरूसहित घरगृहस्थीमा जीवन बिताउनुभएको थियो । उहाँको आफ्नो जीवनकालमा धार्मिक कार्यतर्फ घरगृहस्थी तथा स्थानीय रूपमा मनाइने चाडपर्व मनाउने साथै नेपाल र भारतस्थित विभिन्न धार्मिक स्थलहरूको भ्रमण गरी आफ्नो धार्मिक आस्था पाल्नुभएको थियो । आफूले पारिवारिक रूपमा गर्ने अनेक पूजाआजा तथा धार्मिक कार्यक्रममा सहभागी हुनुका साथै सहयोगका रूपमा नगद रकम प्रदान गर्ने गर्नुभएको थियो । उहाँ राणा परिवारमा जन्म भई मध्यमरूपी परिवारमा जीवनलीला बिताउँदा सहिष्णुता र संयमपूर्वक गर्ने गर्नुहुन्थ्यो । उहाँका बारेमा यस पुस्तकमा शोक व्यक्त गर्ने साथीभाइ, छरछिमेकी र आफन्तहरूले उहाँको सामाजिक सहिष्णुताको विवेचना गर्दै सम्झनुभएको छ । सावित्रीको जीवनको उत्तरार्ध समय २०७३ देखि स्वास्थ्यको समस्याले पिरोल्यो । रोग निदानका लागि नेपालमा उपलब्ध विशेषज्ञ उपलब्ध गराई प्रयास गर्दा पनि बचाउन असम्भव भई २०८० साल असोज २१ गते उहाँले देहलीला त्याग्नुभयो । 
 स्वर्गीय सावित्री राणाको देहावसानमा श्रद्धाञ्जली अर्पण गर्नेहरूको सङ्ख्या ५०० भन्दा बढी छ । धेरैले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यसमध्ये करिब ५०–६० जनाले लिखित रूपमा नै उहाँको आत्माको चिरशान्तिका लागि श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसरी उहाँहरू समवेदना र श्रद्धाञ्जली व्यक्त गर्नेहरूले स्वर्गीय सावित्री राणाको सरल स्वभाव र सम्यकतापूर्वक व्यवहार गर्ने गरेको कुरा प्रायः सबैले नै भावपूर्ण रूपमा व्यक्त गरेका थिए । हाम्रो जीवनलीलाको प्रारम्भअघि र अन्त्यपछिका बारेमा तथ्यपूर्ण रूपमा प्रमाणिनत हुन सकेको छैन । हाम्रो जीवनकालमा बिताएको यस इहलीलाका बारेमा मात्रै यथार्थ रूपमा सम्झना र अनुभव गरेका हुन्छौँ । मानव जीवनको पूर्व र मृत्युपर्यन्त हाम्रो अवस्था के हुन्छ, हामीलाई थाहा छैन । तर यो जीवनको मृत्युपर्यन्त सुखशान्ति होस्, आत्माले शान्ति पाओस् भनी कामना गर्ने प्रचलन छ । अन्त्यमा उहाँको आत्माले शान्ति पाओस भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । हाम्रो सामाजिक परम्परा अनुसार, मरणोपरान्त गरिने विभिन्न पुराण अनुसार गरिने रीतिथितिहरू दानपुण्य गर्ने प्रचलन भइराखेको छ । यसरी गरिने रीतिरिवाजका आफ्नै मान्यता र संस्कार छन् । तर श्रीमती सावित्री राणाको देहावसानपर्यन्त यी मान्यताका साथै डा. इन्दुल केसीले त्यस किसिमका रीतिथितिको अलावा समीक्षा गरेको पुस्तकमा उल्लेख भएका श्रद्धाञ्जली र भावपूर्ण सद्भावहरूलाई लेखाङ्कन गरेकाले यसबाट स्वर्गीय आत्माको दिगो रूपमा शान्ति प्राप्त हुनेछ भन्ने आशा गरेको छु । यस किसिमको नयाँ प्रयास डा. इन्दुल केसीले गर्नुभएको छ । उहाँ धन्यवादको पात्र हुनुहुन्छ । परम्परामा सुधार ल्याउने सिलसिलामा उत्कृष्ट काम गर्नुभएकोमा उहाँलाई धन्यवाद व्यक्त गर्दछु ।
...

All Comments.......


Please Login/Register To Comments