म रोएको त्यो क्षण (समीक्षा)
- Post Date 2024-10-12 12:36:26
कृष्ण किसी
उतिखेरै
तिमीले भनेको कुरालाई यतिखेर सम्झिएँ–
‘जीवन लामो छ ।’
हो रहेछ ।
प्रस्तुत हरफहरू कवि ईश्वर थोकरको कवितासङ्ग्रह ‘नोरी’का हुन् । कवितामा उनले अगाडि लेखेका छन्–
हरेक भेटमा
तिमीसंँग केही न केही कुरा गर्थेँ मैले
केही खुसीका
केही उदासीका
केही जीवनका
केही मनका
एक दिन
उदासी नै उदासीका कुरा बेसी गरेँ सायद
उतिखेरै
तिमीले भनेको कुरालाई यतिखेर सम्झिएँ–
‘जीवन लामो छ ।’
हो रहेछ ।
‘डा. प्रदीपमान सिंह’ शीर्षकमा कविले के अर्थमा यो कविता लेखेका हुन्, मलाई ठेट थाहा भएन । तर, मलाई यो कविताका हरफहरूले असाध्यै मन छोयो । नढाँंटी भन्ने हो भने यो कविताले मलाई रुवायो नै ।
यस्तैयस्तै मजस्तै भावुक मानिसहरूलाई रुवाउने कवितासङ्ग्रह हो, ‘नोरी’ । ‘नोरी’ कवितासङ्ग्रह जति सानो छ, उति नै गरुङ्गो छ । जस्तै; अर्काे कविता–
तिमीलाई
थाहा छ
मलाई कति मन पर्छ ?
छोयला ।
‘ख्वप’जस्तै सानासाना कविताका सङ्ग्रह ‘नोरी’मा अगाडि उल्लेख गरेजस्तै कविता जतिजति छोटाछोटा छन्, भाव भने उतिउति गरुङ्गो महसुस हुन्छ ।
कवितासङ्ग्रह ३० पृष्ठको मात्रै छ । यो कवितासङ्ग्रहमा १६ वटा कविताहरु समावेश छन् ।
कवितासङ्ग्रह पुरानै हो, २०७४ सालमै प्रकाशित गरिएको । तर, विषयवस्तुका कारण यसलाई पुरानो बनाउनै दिएको छैन । किनकि कवितासङ्ग्रह मायाप्रेमको वरिपरि घुमेको छ, जुन मायाप्रेम हिजो पनि थियो आज पनि छ र भोलि पनि हुने नै छ निरन्तर ।
कविताको प्रकाशकमा अजय थोकर रहेको छ । भूमिका शुषमा मानन्धरले लेखेका छन्– चार पृष्ठ लामो । आवरण अमित घिमिरेको छ । टाइप स्वयम् कवि र लेआउट लक्ष्मी भट्टराई ‘परिधि’को छ । कविताको मूल्य दुई अङ्कको छ अर्थात् ९९ रुपैयाँं मात्रै । कविका यो अघि नै गजलसङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित भइसकेका रहेछन् ।
कविलाई शुभकामना, छोटो अनि मीठो कवितासङ्ग्रहका लागि । आगामी साहित्यिक यात्रा अझै फलोस्, फुलोस् । फेरि पनि शुभकामना । साधुवाद ।
All Comments.......
Please Login/Register To Comments