- Post Date 2020-12-09 13:38:10
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा धनुषा जिल्लाबाट सरुवा भई भक्तपुरमा आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको स्वागत कार्यक्रम बुधबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजिअ भट्टराईलाई भादगाउँले टोपी लगाइदिनुभएर खादा ओढाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले देश र जनतालाई केन्द्रबिन्दुमा राखी सामूहिक हितको निम्ति काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले सल्लाघारीमा अवस्थित १०८ रोपनी जग्गाको संरक्षण र सम्बद्र्धन गर्दै आइरहेको अवगत गराउनुहुँदै भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकार मातहत सञ्चालन हुनु सकारात्मक रहेको प्रजापतिले बताउनुभयो ।
भक्तपुर औद्योगिक क्षेत्रबाट हुने धुँवा तथा धुलो प्रदूषणबारे स्थानीय पीडित जनताले लामो समयदेखि गुनासो गर्दै आइरहेको बताउनुहुँदै जनताको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको उद्योग स्थानान्तरणको लागि आवश्यक पहल भइरहेकोे बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ प्रेमप्रसाद भट्टराईले भक्तपुर नगरपालिकाको कार्यशैली उदाहरणीय रहँदै आएको बताउनुहुँदै भक्तपुरको शान्ति सुरक्षा र भक्तपुरबासी जनताको स्वास्थ्य सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
उपत्यकाका तीन सहरहरू विश्वको उत्कृष्ट सहरमध्ये परिचित भएको बताउनुहुँदै प्रजिअ भट्टराईले भक्तपुर औद्योगिक क्षेत्रबाट भएको धुँवा धुलो प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्ने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । सार्वजनिक सम्पत्ति रक्षा गर्न आफू सँधै तत्पर रहने विश्वास प्रकट गर्नुहुँदै उहाँले भक्तपुर नपाले कोरोना रोकथाम र नियन्त्रणमा गरेका गतिविधिहरू उल्लेखनीय भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको पनि उपस्थिति थियो । नगर प्रमुख प्रजापतिले प्रजिअ भट्टराईलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।
...
All Comments.......
Please Login/Register To Comments