- Post Date: 2024-11-28 05:28:11
भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय ५१ जनालाई शैक्षिक प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र स्थायी बसोवास गर्ने विपन्न र जेहेन्दार विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण प्रदान गरिएको हो ।
चालू आर्थिक वर्षमा सबैभन्दा धेरै वडा नम्बर ४ का २२ जनाले ऋण पाएका छन् भने सबैभन्दा कम वडा नम्बर ९ का सातजनाले पाएका छन् । नगरपालिका शिक्षा संयोजक रवीन्द्र ज्याख्वका अनुसार शुक्रबार शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरणपछि ऋण दिन सुरु हुन्छ । ‘अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि शैक्षिक ऋण प्राप्त गर्ने विद्यार्थीहरू छनोट हुनुभइसकेको छ,’ संयोजक ज्याख्वले भने, ‘सीधै सम्बन्धित विद्यार्थीको नाममा पैसा पठाउँदा पैसाको दुरुपयोग हुन सक्ने भएकाले सम्बन्धित विद्यार्थी पढ्ने क्याम्पसको खातामा तीन किस्तामा पैसा हालिदिने हो ।’ नगरपालिकाका अनुसार प्रत्येक वर्ष शैक्षिक ऋणका लागि आवेदन दिने बढिरहेका छन् । हालसम्म नगरपालिकाले दिएको शैक्षिक ऋण सात सय ६७ जनाले प्राप्त गरिसकेका छन् ।
यस्तो छ ऋण लिने प्रक्रिया
भक्तपुर नगरपालिकाले ७५३ स्थानीय तहमध्ये शैक्षिक ऋणको व्यवस्था गर्ने आफू पहिलो भएको दाबी गरेको छ । नगरपालिकाले ऋण दिनका लागि भक्तपुर नगरपालिका, शैक्षिक ऋणसम्बन्धी निर्देशिका, ०७५ जारी गरेको छ । शैक्षिक ऋण दिन ०७५ सालमै नगरपालिकाको चौथो नगरसभाबाट शैक्षिक ऋण निर्देशिका पारित भएको थियो । निर्देशिका १९ वैशाख ०७६ मा स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । सोही वर्षबाटै नगरपालिकाले निर्देशिकाअनुसार शैक्षिण ऋण दिँदै आएको छ ।
निर्देशिकाअनुसार शैक्षिक ऋण माग गर्ने व्यक्तिले वडा समितिमा माग पेस गरी सिफारिस लिनुपर्नेछ । सिफारिससमेत संलग्न गरी नगरपालिकामा निवेदन दिनुपर्नेछ । निवेदन दिएपछि मेयरले शैक्षिक ऋण स्वीकृत गर्न सक्नेछन् । मेयरबाट स्वीकृत भएपछि नगरपालिका आर्थिक प्रशासन शाखाबाट ऋण रकम उपलब्ध गराइनेछ । शैक्षिक ऋणबापत प्रत्येक व्यक्तिले पाँच लाखसम्म प्राप्त गर्न सक्नेछन् । एसइईभन्दा माथि विद्यावारिधि (पिएचडी) गर्नेसम्मले ऋण पाउँछन् ।
३० जनाले फिर्ता गर्न थाले शैक्षिक ऋण
शैक्षिक ऋण लिएकामध्ये ३० जनाले तिर्न थालिसकेका छन् । कुनै पनि विद्यार्थीले जरिवाना तिर्नुपर्ने अवस्था नआएको नगरपालिकाले जनाएको छ ।
‘हामीले उपलब्ध गराएको शैक्षिक ऋण बिस्तारै विद्यार्थीले तिर्न थालेका छन् । अहिलेसम्म कसैलाई जरिवाना गर्नुपर्ने अवस्था आएको छैन,’ ज्याख्वले भने । उनका अनुसार नगरपालिकाको यो कार्यक्रमबाट जेहेन्दार र विपन्न धेरै विद्यार्थीले लाभ लिन थालेका छन् । ऋण लिने विद्यार्थीको संख्या पनि वृद्धि हुन थालेको छ । निर्देशिकामा औसतमा एक सयजनालाई मात्र ऋण दिने व्यवस्था भए पनि संख्यामा वार्षिक रूपमा वृद्धि भइरहेको छ ।
शैक्षिक ऋण नतिरे नगरपालिकाको सेवाबाट वञ्चित
विद्यार्थीले शैक्षिक सत्र सकिएको अर्को वर्षबाट ऋण तिर्न थाल्नुपर्नेछ । निर्देशिकाअनुसार शैक्षिक वर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र ऋण रकमको न्यूनतम २५ प्रतिशत असुल हुनेछ । कोर्सको अन्तिम परीक्षा दिएको मितिले दुई वर्षभित्र ऋण रकमको न्यूनतम ५० प्रतिशत असुल हुनेछ । शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मितिले तीन वर्षभित्र ऋण रकमको न्यूनतम ७५ प्रतिशत साँवाब्याज असुली हुनेछ । अन्तिम परीक्षा दिएको मितिले चौथो वर्षभित्र सबै ऋणको शतप्रतिशत साँवाब्याज तिर्नुपर्नेछ ।
उक्त समयावधिभित्र ऋणको साँवाब्याज नतिरे बुझाउनुपर्ने साँवाब्याजको पाँच प्रतिशत हर्जाना गरी विद्यार्थी र उसको साक्षी बसेको परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ । शैक्षिक ऋणको वार्षिक ब्याजदर ६ प्रतिशत छ । ‘यदि चार वर्षको कोर्स छ भने त्यसको अर्को वर्षबाट ऋण तिर्न सुरु गर्नुपर्नेछ । विद्यार्थीको पढाइ अवधिभर ऋण तिर्नुपर्दैन,’ उनले भने, ‘शैक्षिक कोर्स सकिएको चार वर्षसम्म काम गरेर ऋणको साँवाब्याज तिरे भयो । चार वर्षसम्म पनि ऋण रकम फिर्ता नगरे जरिवानासहित साँवाब्याज तिर्नुपर्नेछ ।’
-
Shares
All Comments...
Please Login/Register to comment.