News Image
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा शैक्षिक वर्ष २०७६।७७ मा स्नातक तहअन्तर्गत बीबीएस, बीए, बीएसडब्ल्यू, बीएससी र बीबीएम कार्यक्रममा भर्ना भएका विद्यार्थीको बिदाइ कार्यक्रम बुधबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई खादा र मायाको चिनोका साथ बिदाइ गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले एक्काइसौं शताब्दीका विद्यार्थीहरु शैक्षिक, सामाजिक, राजनीतिक र सैद्धान्तिक रुपमा अब्बल हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले शैक्षिक संस्थाबाट सिक्ने भनेकै असल आचरण, बोली व्यवहार र संस्कार भएको बताउँदै असल शिक्षकको प्रभावबाट असल नागरिकहरु उत्पादन हुने बताउनुभयो ।
विद्यार्थीहरुको असफलतामा शिक्षकहरुको योग्यतामाथि प्रश्न उठ्ने गरेको प्रसंग जोड्दै उहाँले कलेजमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुलाई समयसुहाउँदो शिक्षा प्रदानतर्फ शैक्षिक संस्थाहरुले जोड दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले योग्य र सक्षम शिक्षकहरुले विद्यार्थीहरुमा सकारात्मक प्रभाव छोड्न सक्षम हुने बताउँदै कर्मचारीहरुले आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठेर असल नागरिकको पहिचान दिने ढंगले जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरुलाई विदेशिन बाध्य बनाउनेमा सरकार र कलेजका प्राध्यापकहरु जिम्मेवार हुने बताउँदै शिक्षकहरुले अध्ययन अध्यापनसँगै देशभक्त नागरिक तयार गर्नुलाई आफ्नो कर्तव्य ठाथेर काम गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।
नयाँ पुस्ताले देशको सार्वभौमिकता रक्षाको निम्ति लडेन भने आउने पुस्ता राजनीतिक रुपमा कमजोर हुने बताउँदै उहाँले आफ्नो ज्ञान र सीपलाई निःस्वार्थ रुपमा देशको लागि प्रयोग गर्न अभिप्रेरित गर्नुभयो ।
कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई आफ्नो विषयमा विशेषज्ञ भई देश र समाजको सेवा गर्न शुभकामना दिनुभयो ।
भक्तपुरमा ‘एक घर एक स्नातक’ बनाउने अवधारणाले मूर्त रुप लिइसकेको बताउँदै उहाँले भत्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको सहयोगी भूमिका रहेको बताउनुभयो ।
युवा विद्यार्थीहरुको जीवनको लक्ष्य देश र समाजको सेवा गर्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै उहाँले विदेशिएका नेपालीहरुमा आफ्नो देशको सेवा गर्ने भावना रहीरहन जरुरी छ भन्नुभयो ।
शिक्षा राज्यको दायित्वअन्तर्गत हुनुपर्नेमा नेपालको शिक्षा निजीकरण र व्यापारीकरणतर्फ उन्मुख हुँदा गरिब जनता शिक्षाको पहुँचबाट टाढा पुगेको बताउँदै उहाँले व्यक्तित्व विकासमा सबै युवाहरुले समान अवसर प्राप्त गर्ने अवस्थाको सिर्जना गर्न भक्तपुर नपा प्रयासरत रहेको बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले सभ्य र सुसंस्कृत समाज निर्माणमा भक्तपुर नपाले अग्रसर भूमिका खेल्दै आएको बताउँदै भक्तपुरको शैक्षिक क्रान्तिमा नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वपबाट उत्पादित विद्यार्थीहरु कलेजका बहुमूल्य सम्पत्ति भएको बताउँदै विद्यार्थीहरुले व्यक्तिगत स्वार्थबाट टाढा रही देश र समाजप्रति पनि उत्तरदायी भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर महोत्सव अवधिभर ख्वप कलेजमा विभिन्न शैक्षिक प्रदर्शनी हुने अवगत गराउँदै उहाँले विद्यार्थीहरुलाई महोत्सवमा सक्रियतापूर्वक सहभागिताको लागि पनि अनुरोध गर्नुभयो ।
ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले विद्यार्थीहरुले आफ्नो सामाजिक दायित्व बहन गर्नेतर्फ अग्रसर हुन प्रेरित गर्दै सक्षम जनशक्तिहरु विदेशिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा बी.ए. संकायका विद्यार्थी आस्था कार्की, बी.एस.डब्लू.का सुनेना मानन्धर, बी.बी.एम.का रोशनी शिल्पकार, बी.बी.एम.का शमिष्ठा श्रेष्ठ र बी.एस.सी. वातावरण विज्ञानका पूजा मगरले कलेज अध्ययनबारे आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा एम.बी.एस.का इन्चार्ज रुपक जोशी, एम.ए. अर्थशास्त्रका संयोजक रुपक खड्का, एम.ए. अंग्रेजीका संयोजक कमिनिका न्याइँच्याइँ, एम.एस.सी. वातावरण विज्ञानका संयोजक मिरा प्रजापतिले विषयगत विशेषताबारे विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।
  • Shares

All Comments...


Please Login/Register to comment.