माक्कफुंई चिट्ठी  
स्टकहोल्म   
प्यारी राधिका फुपू
साईनो अनुसारको समान
राधिका फुपू, म तपाईलाई असाध्यै माया गर्छु भन्ने कुरा तपाईलाई थाहै छ। तपाईको बिबाह केपी फुपाजूसंग हुनु भन्दा अगाडि मेरा बदमासीहरुका कारण मैले सजाय पाउने बेला तपाईले माया र स्नेहले मलाइ पक्ष पोषित गर्नु भएको सम्झना आजका मितिसम्म पनि ताजै छ। सायद तपाईले देखाउनु भएको त्यो स्नेह नै मेरो बाल मस्तिष्कमा छाप भएर बस्यो। त्यसको मलाइ यो समुन्द्र पारीको देशमा समेत झलझली याद आइरहन्छ। यद्यपि हाम्रा बीचमा बारम्बार हुने चिट्ठी पत्र आदान प्रदानले अलि धाँढस चाहि मिलेकै छ।   
फुपू, धेरै बर्ष पहिले तपाईले देश सेवामा लाग्छु भनी मरिहत्ते गरेका ख्याउटे केपी फुपाजूलाई वरको रुपमा चुनीरहन्दा म असाध्यै खुशी थिएँ किनभने तपाईले एउटा देश सेवामा लागेका एक कर्मठ युवालाई आफ्नो जीवन साथीको रुपमा मन पराउनु भएको थियो। त्यसकारण फुपाजूको पनि मलाई औधी माया लाग्दछ जति तपाईको लाग्छ। हालसालै फूपाजूको दोस्रो मृगौला प्रत्यारोपण सफल भएकोमा उहाँलाई हार्दिक बधाई ! तर उहाँ मुलुकको कार्यकारी प्रमुख हुन्दामा उहाँले उचित आराम पनि गर्न पाउनु नभएको कुरा मलाई थाहा छ। अझ सिङ्ग्गो देश नै कोरोनाको कारण आक्रान्त भएको बेला देशका कार्यकारी प्रमुख आरामले बस्न पनि सुहाउन्दैन।
अहिले फुपाजू देशको कार्यकारी ओहोदामा हुनुहुन्छ। यो नितान्त गर्वको कुरा हो। तपाईलाई त्यहि अनुसारको ब्यबहार गर्दा गर्दा भ्याई नभ्याई पनि होला। बा (आमासंग त भर्च्युअल संवाद भै रहन्छ तर तपाईको व्यस्तताका कारण तपाईसंग भने चिट्ठी पत्रमै चित्त बुझाउन परेको छ। तपाईको यस्तो अबस्थामा तपाईलाई आफ्नो तहबाट गर्नु पर्ने सहयोग देश बाहिर भएको हुनाले गर्न नसकेकोमा दुस्ख पनि लागेको छ।     
कुरा के भने फुपू, हिजो बासंग भर्च्युअल बार्तालाप हुँदा फुपजूका बारेमा उहाँले हल्का चित्त नबुझे जस्तो कुरा गर्नु भो। भन्नु हुन्थ्यो, ’’खै तेरा फुपजूलाई नि के भाको हो आजकल प्याच प्याच बोल्नुहुन्छ। यहाँ छर(छिमेकीले कुरा सुनाएर बस्नै गार्हो भो। तै एकचोटी सम्झा तेरा फुपालाई।’’ म नि यो साता अलि बढि नै ब्यस्त भएकाले सूचना, समाचारबाट बिमुख नै थिएँ। त्यसकारण बाको कुरा खास बुझिन्न। बाको कुराको भ्यउ नापाकोले सामाजिक संजाल र इन्टरनेटतिर गएर हेर्दा मात्र थाहा भो खासमा बाको नाराज्गीको कारण। सामाजिक संजाल पूरै फुपाको खिलाफमा रंगेको छ। सामाजिक संजालमा उनीहरुले भनेका छन्,’’दश अर्ब खै? नेपालीको रोग प्रतिरोधी क्षमता बलियो भनेर कसले भनेको? पिसिआर भर्सेस बेसार? आदि इत्यादि।’’
फुपू, हाम्रो नेपाल भाषा (नेवार भाषा) मा आफुलाई थाहा नभएको कुराहरुमा जान्ने टोपल्ने, जे कुरामा पनि आफु मात्रै जान्ने सुन्ने जस्तै गरी फांई फूँई गर्ने अनि आफ्नो योग्यताले नदिने कुरा पनि यसो र त्यसो भनिकन योग्यता देखाउने बानीलाई ’’माक्कफुंई’’ भन्ने चलन छ। आजकल यसो बुझ्दा हाम्रा फुपाले पनि अलि ’’माक्कफुंई’’ देखाको जस्तो भान भईराको छ।
हो, उहाँ देशको कार्यकारी हुनुहुन्छ। तर त्यसो भनेर उहाँलाई सबै थाहा हुने कुरा हैन फुपू। त्यसैले उहाँलाई राज्यले विभिन्न विषयका बिज्ञ उपलब्ध गराएको छ। उहाँले बिज्ञसंग परामर्श गरेर मात्र बोल्नु पर्ने हुन्छ। उहाँले कोरोनाको ’’बोसीय र फ्यातीय तत्व’’ का बारेमा बोलेर, पिसिआर गर्नुको बदलामा बेसार खाएर कोरोनासंग लड्ने कुरा गरेर र कोरोना बिरुद्द थोरै कोशिस गरेर दश अर्ब खर्च गरी ’’माक्कफुंई’’ गरेको आरोप छ। नेपाली जनताले ’’केरा’’ बाहेक केहि नपाएको गुनासो गरेका छन्। कृपया फुपू, फुपालाई संबेदनशील तहमा बस्नेले त्यहि अनुसारको शील स्वभाब र ब्यबहार देखाउनलाई बिनम्र भएर सुकला हुनु भन्दा अगाडि एकचोटी सम्झाउनु होला। मलाई थाहा छ फुपा नमान्ने मान्छे पनि हैन। झन् फुपूले सम्झाए पछि नमान्ने भन्ने कुरै छैन। आशा छ फुपूले आजै सुकला हुनु अगावै संवाद गरी फुपालाई मनाउनु हुनेछ। मेरो एक साता अझै ब्यस्त तालिका छ। त्यसकारण यो साता मलाई चिट्ठी नलेख्नु होला। फुपालाई सम्झाए पछिको परिस्थितिका बारेमा सिधै बालाई खबर गरेर थाहा दिनु होला।             
तपाईको प्यारो भदा
राजु छुस्याबाग ’शाक्य’...

All Comments.......


Please Login/Register To Comments