धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका जिल्लाकै पहिलो वालमैत्री नगरपालिका घोषणा गरेको छ । नगरपालिकाको ३५ औं स्थापना दिवसको अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज वालमैत्री नगरपालिका घोषणा गरेका हुन् ।
प्रमुख अतिथि मन्त्री ज्ञवालीले वडा नं. १, २, ८, ९, ११ र १२ लाई वालमैत्री वडा घोषणा गरेपछि सिंगो नगर अब वालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका ३९ वटा सूचकहरु पूरा गरेपछि वालमैत्री नगर घोषणा भएको नगर प्रमुख आशोक ब्याञ्जुले बताए ।
नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ तथा कार्यान्वयन कार्यविधि २०६८ जारी गरि बालमैत्री स्थानीय शासन प्रणाली प्रबद्र्धन गरिरहेको छ । यसले स्थानीय निकायहरुले अवलम्बन गर्ने योजना तर्जुमा, बालबालिकासँग सम्बन्धित नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिका तथा बालबालिकासँग सरोकार राख्ने संघसंस्थाहरुको सहभागीता र भूमिका सुनिश्चित गरी बालमैत्री लगानी प्रणाली स्थापित गर्ने लक्ष लिएकोमा धुलिखेल नगरपालिकाले यो पूरा गरेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ को दफा २१ मा तोकिएको ३९ वटा न्यूनतम सूचकहरु प्राप्त गर्ने स्थानीय तहले आफूलाई बालमैत्री स्थानीय सरकार भनी घोषणा गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
यसैबीच नगर प्रमुख ब्याञ्जुले नगरले बालमैत्री स्थानीय शासनलाई सबै वडाहरुमा अवलम्बन गरी शुरुको वर्षमा नै प्रत्येक वडाहरुमा कार्यन्वयन गर्दै आएको बताए ।
‘नगरले बालमैत्री स्थानीय शासनलाई सबै वडाहरुमा अवलम्बन गरी शुरुको वर्षमा नै प्रत्येक वडाहरुमा बालमैत्री पार्क निर्माण, एक घर एक धाराको अभियान, प्रारम्भिक वालविकास केन्द्रको सुधार, प्रत्येक बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय भर्ना अभियान, विद्यालय व्यवस्थापन समिति र स्वास्थ्य व्यवस्थापन समितिमा वाल क्लबका प्रनितिधिको अनिवार्य प्रतिनिधित्व हुने कानूनी व्यवस्था, जन्मदर्ताको अभियान, विद्यालयमा छात्र र छात्राहरुको लागि अलग अलग शौचालय निर्माण, बालश्रम न्यूनीकरण, बालविवाह निषेध लगायतका विभिन्न कार्यक्रमहरु हामीले सञ्चालन गरेका थियौं ।’ ब्याञ्जुले भने, ‘बालबालिकाहरुको हेरचाह तथा अनाथ बालकालिकाको सहयोगका लागि ३९ लाख बराबरको रकमबाट हामीले १२ वटै वडामा वालकोष स्थापना गर्नुको साथै बालमैत्री वडा घोषणा गर्ने वडाहरुलाई पुरस्कार स्वरुप प्रति वडा ५।५ लाख रुपैयाँका दरले रकम समेत वितरण गरेका थियौं ।’
बालमैत्री स्थानीय शासनले तोकेका ३९ वटा सूचकहरुलाई आफूहरुले स्थानीयकरण गर्नुको साथै सूचकहरुको अन्तिम मान्यता दिई वालमैत्री पार्क, पोषण सुधार लगायतका केही स्थानीय सूचकहरुलाइ थप गरी नगरकार्यपालिकाबाट सबै वडाहरुमा यसको प्रभावकारी कार्यान्वययन गरेको उनले जानकारी दिए ।
यस अघि मिति २०७६ सला जेष्ठ २७ गते वडा नं. १० लाई तात्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले वालमन्त्री वडा घोषणा गरेका थिए । त्यस्तै २०७६ साल फागुन ५ गते स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वडा नं. ३, ४, ५, ६ र ७ लाई वालमन्त्री वडा घोषणा गरेका थिए ।
आज भने परराष्ट्र मन्त्री ज्ञवालीले वडा नं. १, २, ८, ९, ११ र १२ लाई वामैत्री वडा घोषणा गरेका थिए ।
११ जना सम्मानित
स्थापना दिवसको अवसरमा नगरले विभिन्न व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा धुलिखेल रत्न पदकबाट डा. राजेन्द्र कोजु, धुलिखेल नक्षत्र पदकबाट बद्रीबहादुर राई, धुलिखेल प्रत्राश्रीबाट भुवन चौंलागाईं, धुलिखेल सेवाश्रीबाट गोपिनाथ मैनाली, धुलिखले ताराबाट तारानाथ लुईटेल, बेदप्रसाद कोजु, सेभ द चिल्ड्रेन, सरोज प्याकुरेल, ज्योत्सना सैजु, जनसेवा श्रीबाट सरदचन्द्र थापा र विदुर गौतम रहेका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यहहरु, प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेका थिए ।...

All Comments.......


Please Login/Register To Comments