काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पाठ्यक्रम निर्माण गरी आधारभूतमा पठन–पाठनको सुरुवात गराउने साहसिक कामको थालनी गरेको र त्यसको नेतृत्व प्रमुख शाक्यले गरेको भन्दै नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिले गरेको सम्मान ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘मुर्त–अमुर्त सम्पदा संरक्षण गर्ने काठमाडौँ महानगरपालिकाको प्राथमिक योजना हो,’ शाक्यले भन्नुभयो, ‘सम्पदा निर्माण–पुननिर्माणको कार्य कतै छुटेको भए जानकारी दिनुहोस हामी सहयोग गर्न तयार छौँ ।’ शाक्यले पाँच वर्ष भित्रमा सबै सम्पदा निर्माण–पुननिर्माणको काम सम्पन्न गरेर मात्रै विदा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘कतिपय ठाउँमा गुठिया–गुठियारकै विवाद र पुरातत्वका कारण समस्या भएको छ,’ शाक्यले भन्नुभयो, ‘राज्यले बनाइदियो भने राज्यले नै लिने हो कि भन्ने मनोविज्ञानका कारण कारण पनि कतिपय ठाउँमा समस्या भएको छ । हामी निर्माण सम्पन्न गरेपछि पहिलादेखि नै जुन गुठियारहरुले जात्रा, चाड–पर्व आफ्नो परम्परा अनुसार जसरी सञ्चालन गरिरहेका छन् उनीहरुलाई नै हस्तान्तरण गर्ने हो । त्यसमा कुनै अलमल नहोस् । बजेटको सुनिश्चितता हामी गर्छौ । संरक्षणको जिम्मा तपाईँहरुको हो ।’ उहाँले काष्ठमाण्डप काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा १८ करोडको लगानीमा निर्माण भैरहेको पनि जानकारी दिनुभयो ।  
शाक्यले कार्यक्रममा सम्वोधन गर्दै भोलिका पुस्ताले आफ्नो संस्कृति, संस्कार र जात्रा–पर्वबारे गौरव गर्दै त्यसको संरक्षण गर्न सकुन भन्ने हेतुले स्थानीय भाषाको पठन–पाठन सुरु गरेको स्मरण गराउनुभयो ।  ‘हामीलाई विदेशका बारेमा थाहा हुन्छ तर, हामी बसेको ठाउँ, हामीले मानी आएका  जात्रा–पर्व, संस्कृति–संस्कारका बारेमा व्याख्या गर्न सक्दैनौँ,’ शाक्यले भन्नुभयो, ‘भोलिका पुस्ताले काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, काठमाडौंका प्रमुख जाति, यहाँको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषयको जानकारी होस् भनेर पाठ्यपुस्तकमा ती विषय समेटिएका छन् ।’ उहाँले बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने उदेश्यले पाठ्यक्रम बनाएको पनि जानकारी दिनुभयो ।  ‘यसलाई समय अनुसार परिमार्जन गर्दै जाने नीति छ,’ उहाँले भन्नुभयो ।  
नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिका अध्यक्ष मचाराजा महर्जनले  काठमाडौँ जिल्ला समितिको तर्फबा मेयर शाक्यलाई काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका कक्षा १ देखि ८ सम्मका विद्यालयमा स्थानीय पाठ्यक्रम मार्फत स्थानीय पहिचान स्थापित गर्ने गरी पठन–पाठन गर्ने साहसिक कदमको अगुवाई गरेको भन्दै त्यसको कदर गरी सम्मान गरेको जानकारी दिनुभयो । उहाँले प्रमुख शाक्यलाई स्थानीय पहिचान मुताविक टोल, सडक, गल्ली र चोकहरुको नामाकरण गर्ने अभियानको समेत अगुवाई गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । ‘पुरानो नाम भित्र ऐतिहासिक तथ्य र घटना जोडिएको  हुन्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय पहिचान र विशेषताको संरक्षणमा टोल, सडक, गल्ली र चोकहरुको नामलाई सभ्यता विकासक्रमले प्रदान गरेको नामलाई संरक्षण गर्नु हाम्रो पहिचानलाई जिवन्त राख्नु पनि हो । त्यसैलै त्यसको पहल महानगरपालिकाबाट होस् भन्ने छ ।’ उहाँले राष्ट्रिय जनगणना हुँदा वास्तविक तथ्याङ्क बाहिर ल्याउन टोलटोलमा स्वयमेवी गठन र गणक स्थानीय राख्न पहल गर्न पनि आग्रह गरेको जानकारी दिनुभयो ।
...

All Comments.......


Please Login/Register To Comments