भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको ४ महिने बुटिक, ३ महिने उन्नत र चार महिने आधारभूत सिलाई तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूसँग सीप भएका युवाहरु कहिल्यै बेरोजगारी बस्न नपर्ने बताउनुहुँदै वैदेशिक रोजगारमा गएका युवाहरु कम ज्यालामा खतरजनक काम गर्न बाध्य बनेको बताउनुभयो ।
सीप सिक्नुको अनेक फाइदाहरु रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले आधुनिक प्रविधिले मौलिक सीपहरु हराउँदै जाने खतरा भएको र युवाहरु परिवर्तित समयअनुसार प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
शिक्षाको अभावका कारण समाजमा हुने गरेका अन्धविश्वासका कारण अप्रिय घटनाहरु घटेका छन् भन्दै उहाँले अन्धविश्वासलाई उन्मूलन गर्न जनतामा शिक्षा र चेतनाको स्तर बढाउँदै लानुपर्छ भन्नुभयो । 
भक्तपुर नगरपालिकाले नगरबासीहरुको लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउन सहयोगी भूमिका खेलिरहेको औंल्याउनुहुँदै उहाँले व्यक्तिको रुप भन्दा उसको सीप र गुणको महत्व धेरै हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक रुपले अगाडि बढेकै कारण यहाँका नागरिकहरु शिक्षित र जागरुक भएको बताउनुहुँदै महिलाहरुलाई आरक्षण भन्दा पनि हातमा सीप र अवसर दिनु जरुरी रहेको बताउनुभयो । उहाँले महिला—पुरुषबीचको भेद समाजबाट बिस्तारै हट्दै गएको बताउनुहुँदै सीप सिकेका महिलाहरु आर्थिक रुपबाट सबल हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले धन्यवाद ज्ञापन गर्नुहुँदै आफ्नो सीप र आफूले प्राप्त गरेको प्रमाणपत्रको सही सदुपयोगको लागि आग्रह गर्नुभयो ।
प्रमाणपत्र वितरण कार्यक्रममा कार्यपालिका सदस्यद्वय रोशनमैंया सुवाल र कृष्णलक्ष्मी दुवालले भक्तपुर नगरपालिकाबाट सञ्चालित विभिन्न तालिमहरुबारे अवगत गराउनुहुँदै जीवनउपयोगी सीपमूलक तालिमले नागरिकलाई आत्मनिर्भर बनाउन मद्दत पु¥याएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले ४ महिने बुटिक तालिमका १५ जना, ३ महिने उन्नत सिलाईका १३ जना र चार महिने आधारभूत सिलाईका १६ गरी ४४ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा कार्यपालिका सदस्य सरिना द्योला र सिलाई तालिमका प्रशिक्षक धर्मलक्ष्मी लघुले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments