- Post Date 2021-04-04 14:00:03
नेवाः पत्रकार राष्ट्रिय दबूले यही चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा समावेशी सञ्चार र मातृभाषाको पत्रकारिताको विकासको मुद्दाप्रति प्रतिबद्ध पत्रकारहरुलाई निर्वाचन गराउन आग्रह गरेको छ ।
पत्रकार राष्ट्रिय दबूले आईतबार जारी १० बुँदे घोषणापत्र मार्फत सो आग्रह गरिएको हो । पत्रकार राष्ट्रिय दबूको नवौं स्थापना दिवस र हालै भक्तपुरस्थित मध्यपुर ठिमीमा सम्पन्न आठौं वार्षिक साधारण सभामा उठाइएको विषयको आधारमा सो घोषणापत्र जारी गरिएको हो ।
पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘ महासंघको निर्वाचनमा नेवाः पत्रकारको सहभागिता सुनिश्चित गर्न पहल गर्ने छौं । त्यसका साथै आदिवासी जनजाति, महिला, मधेशी, दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायका पत्रकारहरुको सहभागीता बढाउनुका साथै समावेशी सञ्चार र श्रमजीवी पत्रकारको मुद्दाप्रति प्रतिबद्ध पत्रकारलाई निर्वाचन गराउन अधिकतम पहल गर्न आग्रह गर्दछौं ।’
घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पु¥याएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ ‘काउन्सिलले आगामी दिनमा नेपालको पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को व्यक्तित्व र कृतित्व बारे पुस्तकहरु प्रकाशन गर्न ध्यान जाओस् । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाबाट पत्रकारिता गरिरहेका तथा नेवाः लगायत विभिन्न समुदायका पत्रकारहरु पनि प्रदान गर्न ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
सो घोषणापत्रमा मातृभाषाको पत्रकारिताको विकासको लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने,राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाली पत्रकारहरु पहिलो पटक संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
त्यसैगरी घोषणापत्रमा काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ये देय् म्हसिके’ (काठमाडौंलाई चिनाऔं ) पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षक समेत व्यवस्था गर्नु युगौं सम्म महत्वपूर्ण राख्ने घटनाको रुपमा लिन भनिएको छ ।
सो कार्यको सराहना गर्दै विभिन्न स्थानीय तहमा नेपाल भाषाकासाथै आआफ्नो स्थानीय तहमा चलनचल्तीमा रहेको मातृभाषाको माध्यमबाट पढाउने व्यवस्थाको लागि ध्यान आकृष्ट हुनुपर्ने पनि घोषणापत्रमा भनिएको छ ।...
All Comments.......
Please Login/Register To Comments