भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७७ चैत्र २८ गतेबाट सुरु हुने ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन भक्तपुरको टौमढीमा शुक्रबार सद्भाव सभा सम्पन्न भयो ।
सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेपालमा कोभिड संक्रमणको दोस्रो लहरको खतरा बढ्दै गएको र वायु प्रदूषणका जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबारे जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल र भारतबीचको खुला सीमाका कारण छिमेकी देशमा पछिल्लो समय छिमेकी देश भारतमा कोभिड संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको खतरा देखिन थालेको बताउनुहुँदै जात्राको समयमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्ड पालना गर्न जनसमुदायमाझ अनुरोध गर्नुभयो ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सञ्चालन विषयमा सम्बन्धित निकायले समयमै निर्णय गर्न नसक्दा जनतामाझ असन्तोष बढेको बताउनुहुँदै सांसद सुवालले बिस्का जात्रा शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न स्थानीय जनता नै निर्णायक हुने हुँदा सभ्यता र संस्कृति झल्किने ढंगले यस वर्षको बिस्का जात्रा सम्पन्न गर्न अपिल गर्नुभयो ।
विश्व सम्पदा सूचीभित्र पर्ने चाँगुनारायण मन्दिर र त्यहाँ वरपरको मानव बस्ती र खानेपानी मुहान जोखिममा पर्ने गरी क्रिकेट मैदान बनाउने नाममा अनियमित तरिकाले बालुवा उत्खनन्का कारण ती क्षेत्रहरु जोखिममा परेको बताउनुहुँदै उहाँले नेपाल सरकारले काठमाडौं उपत्यकामा थप सहरहरुको विकास गरी उपत्यकालाई बस्न अयोग्य सहरको रुपमा विकास गर्न खोजिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नजिकिँदै गरेको बिस्का जात्राबारे देखिएको अन्योल र अस्पष्ट स्थितिबारे प्रष्ट पार्नुहुँदै जात्रा मनाउनुपर्छ भन्ने जनताको भावनाअनुरुप जात्रासँग सम्बन्धित विभिन्न सरोकारवालाहरुको रायसुझावअनुरुप भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का जात्रा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उल्लासमय र मर्यादित रुपमा सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो ।
    उहाँले जात्राको नाममा धमिलो पानीमा माछा मार्ने षड्यन्त्रकारीहरुबाट भक्तपुरबासी जनताहरु सचेत हुनुपर्ने बताउनुहुँदै भक्तपुर नपाले कोभिड संक्रमणबाट जनतालाई सचेत र सुरक्षित पार्न घरघरमा साबुन र मास्क वितरण कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा मात्र मनाइने प्रसिद्ध बिस्का जात्रा धार्मिक, राजनीतिक, सामाजिक र आर्थिक रुपले महत्वपूर्ण जात्रा भएको औंल्याउनुहुँदै जात्रामा समाजका सबै वर्ग तथा समुदायको सक्रिय सहभागिता रहनु नै यस जात्राको विशेषता भएको बताउनुभयो ।

सभामा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले चैत्र २८ गतेबाट सुरु हुने बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्नुहुँदै सदियौंदेखि चलिआएको जात्रा पनि गर्ने र जात्रा अवधिभर सुरक्षित पनि रहन अनुरोध गर्नुभयो ।
त्यसैगरी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले सांस्कृतिक एवम् ऐतिहासिक बिस्का जात्रा शान्तिपूर्ण रुपमा मनाउन अपिल गर्नुहुँदै बिस्का जात्रा अवधिभर नगरभित्र अमनचयन कायम गर्न सुरक्षाकर्मीहरु परिचालन हुने प्रतिबद्धता जनाउनुभयो ।
सभामा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन मन्तव्य दिनुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले संवेदनशील घडीमा हुन लागेको बिस्का जात्रालाई सभ्य, भव्य, सुरक्षित, शान्तिपूर्ण र मर्यादित ढंगले मनाउन भक्तपुर नपाले प्रकाशन गरेको अपिल सभामा वाचन गर्नुभएको थियो ।...

All Comments.......


Please Login/Register To Comments