रातो सूर्य
  • Post Date 2021-04-16 01:42:04

पदम दाहाल 

आमाको भ्रूणबाट पैदा भएको
भर्खर पखालिएको
रोदन बिसाएको 
एक शान्त, क्लान्त र स्निग्ध शिशुजस्तै
खगोलीय ब्रह्माण्डमा 
हुरुक्क बल्न आँटेको कलिलो
गोलाकार आगोको फिलुङ्गोजस्तै
एकलास्टमा रातो सूर्य 
ऊ... पर...सुदूर पुर्वको क्षितिजमा 
लाग्छ आकाशसँगै टाँसिएर
चियाइरहेछ एकाबिहानै
खोजिरहेछ कसैलाई
यात्राको धङधङीसँगैको लालिमा जडेर
दिनहुँ पहिलोबाजि बेर्दोरहेछ
मेरै हिमाललाई बाहुपाशमा
र, चुम्दोरहेछ स्नेहिल स्पर्शले नजिकिंदै
मादक ओठभरि सहस्र चुम्बनका निलडामहरू
राखेर न्यानो अँगालोमा
बिस्तारै मनोरम मनोवाञ्छित पहाडलाई पनि
निर्लज्जसँग सुमधुर मुस्कान पोखेर
बिछ्याउदै बिस्कुन बिस्तारै आफैंभित्र
खोज्दोरहेछ एक उत्परिवर्तन
बलात् विरहको ज्वाला हुर्काएर हुर्हुरी
फैलाएर ज्योतिर्मय प्रकटन ।
८               ८              ८
यहाँको समाज घेरिएको छ तुवाँलोले
यहाँ बस्ती बेरिएको छ अँधेरोले
त्यसैले पाश्चात्य सिंगारेजस्तै तिम्ले 
उज्यालो र नौलो बान्की बोकेर ल्याऊ अभियान
नबोक सधैंको जस्तो नियास्रोपन फुस्रोपन
मेरो फोहोरी बस्ती, मझेरी र पँधेरीमा 
पवित्र बिहानसँगको लिएर आऊ नयाँ दिन
बचे खुचेका मभित्रका 
कालामैला पोका र धोकाहरू 
उजिल्याउने गरी समबुद्घ बनेर आऊ अर्को बिहान । 


...

All Comments.......


Please Login/Register To Comments