सीमा रक्षाको विगुल फुकिदेउ
रामकृष्ण प्रजापति
मेरो मातृभूमि छट्पटिएको छ
रगतले कोरिएको सिमानामा
जंगे पिलर सार्नाले
बगरमा फ्या“किएको माछा जस्तै ।
मेरो माटो बेचैन भएको छ
सिमानामा बा“धेको बा“धले जलमग्न भई
समुन्द्रमा दिशा बिर्सिएको पानी जहाज जस्तै ।
मेरो जनता आजित भएको छ
जारी गरेको मेरो नक्सामा भारतीय विस्तारवादले
कालापानी, लिपुलेक र लिम्पियाधुरामा परेड खेल्नाले
टावाको माछा भुमा भने जस्तै
शासकको बद्लिएको रुपसंगै ।

मातृभूमिमा सुतेका नेपालीहरु
बिहान उठ्दा अर्काको देशमा हुन्छन्
प्रतिवाद गर्दा एसएसबिले
गौतमहरुलाई गोलिठोकी
हत्या गरिदिन्छन् ।

छिमेकीदेशको मिचाहा प्रबृति
सहन नसकी जुलुस गरेर
विरोधको स्वर लिएर
प्रशासन कार्यालय जान्दा
छिमेकीसंग लाचार भई
विदेशी तलवमा मातेकाहरु
छलछाम र चिप्लो कुरा गरी
फर्काई दिन्छन् ।

ए शासक
देशको बारेमा बाोलिरहनु पर्ने तिमी
सिमाना बचाउन लडिरहनु पर्ने तिमी
मिचिएको भुभाग फिर्ता लिन हिडिरहनुपर्ने तिमी
किन लम्पसार सुतिरहेछौ
कुम्भकर्ण जस्तै ?
किन शान्त छौ
ढुगांको मुर्ति जस्तै ?
किन चुपचाप छौ
लखन थापाको सालिक जस्तै ?

कहिले उपनिवेश नबनेको देश
वीर बलभद्रहरुले रगतको सिमान कोरेको
मेरो देशमा
किन मौन हुँदैछ शासकहरु
किन कापिरहेछ सभासद्हरु
किन कमजोर हुँदैछ सार्वभौमसत्ता
किन एकान्तवाद खोजी रहेको छ
संचार माध्यमका मनोदशाहरु जस्तै

विस्तारवादलाई त
नेपालीहरुको गति र प्रवाह भएको
मुटु मन पर्देन
नेपालीहरुको सुन्दर हरियाली भएको
मनमष्टिष्क मन पर्देन
नेपालीहरुको नशा नशामा रातो रंगहरुको आगमन भएको
क्रान्तिकारी भावना मन पर्देन
नेपाल शुन्दर शान्त र विशाल हुने भएकैले
नेपालीको मुस्कान मन पर्देन
मन पर्छ त मात्र
नेपालको नदिनालाहरु हडप्ने
नेपालको प्राकृतिक स्रोत साधनको दोहन गरी
मशानघाट बनाउने
जहाँ सन्नता र सुस्केरा मात्र हुन्छ

ए शासक
तिम्रो अनुहारमा
किन त्यहि लेन्दुप दोर्जे देखिरहेछ
नत्र किन हिडिरहेछौं टर्कि टर्कि
अत्यास लाग्दो उजाड  विस्तारवादमा
भयावह अनुहार लिएर वेचल्तीको बाटो तिर
कतै नरसंहारको खेती गर्न हिडेका त होइनौं
साम्राज्यवादले जस्तै ।
त्यसैले,
आऊ, सीमा रक्षाको विगुल फुकिदेऊ ।

...

All Comments.......


Please Login/Register To Comments