काठमाडौँ । महानगरपालिकासहित आज काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्रबाट ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई दोस्रो डोज लगाउन सुरु ग¥यो ।
आजै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र जनस्वास्थ्य विभागका अधिकारीसहित विभिन्न खोप केन्द्र पुगेर व्यवस्थापनकीय पक्ष र सेवा अवस्थाको अवलोकन गर्नुभयो ।
अवलोकनपछि अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘खोप केन्द्रलाई व्यवस्थित बनाउन प्रयास गरिएको छ । लाइनमा बस्दा भौतिक दुरी कायम गर्ने, घरबाट निस्कँदै कार्ड लिएर र मास्क लगाएर मात्र खोप केन्द्रमा आउने, भीड नगर्ने जस्ता आधारभूत कुरा सबैतिर पालना गरिएको छ । कुनै कुनै केन्द्रमा अलि लामो लाइन छ ।’ अवलोकनका क्रममा देखिएको लामो लाइन घटाउने विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘तोकिएको दिनमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आफूलाई पायक पर्ने खोप केन्द्र जहाँ पनि गएर खोप लगाउन पाउने व्यवस्था गरेका छौँ । त्यसैले खुकुलो गरी खोप लगाउन, भीड र हुलमुल नगर्न मेरो अनुरोध छ । भोलिबाट जो खोप लगाउन जाँदै हुनुहुन्छ उहाँहरुले, खोप केन्द्रलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’
‘संक्रमणबाट बच्न पूर्वसतर्कता र सावधानी अपनाउनु हरेक नागरिकको दायित्व हो । हरेक व्यक्तिले यो दायित्व पूरा गरिदिने हो भने अस्पतालमा विरामीको चाप छिट्टै घट्नेछ । विरामी भए पछि उपचार त गर्नै पर्छ । तर, उपचार गर्नु पर्र्ने अवस्था आउनुअघि नै सुरक्षित हुने प्रयास गर्नुपर्छ ।’ प्रमुख शाक्यले काठमाडौँ महानगरले महामारी नियन्त्रणका लागि अघि सारेका कार्यक्रम र स्रोत परिचालनका विषयमा कुरा गर्दै, महानगरले कोविड रोकथाम र नियन्त्रण तथा उपचार प्रणाली दुवै क्षेत्रमा समान लगानी गरिरहेको बताउनुभयो ।
निरीक्षणका क्रममा उहाँ वडा ११ को विश्व निकेतन स्कूल, वडा ३२ को वडा कार्यालय, वडा ७ को गुह्येश्वरी विद्यालय, वडा १० को म्याक डोनाल्ड पार्टी प्यालेसलगायतका खोप केन्द्रमा पुग्नुभएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार आजबाट खोप कार्यक्रम सुरु भएको हो । यो ११ गतेसम्म चल्नेछ । यसमा गएको (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइनेछ । तोकिएका दिनमा तोकिएका खोप लाभग्राहीले कार्ड लिएर खोप केन्द्र जानु पर्नेछ । खोप लिने समय विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको हो । जसअनुसार भोलि खोप पाउनेमा २०७७ चैत यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएका व्यक्तिहरु पर्नुहुन्छ । यस्तै ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।
बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते दोस्रो मात्रा खोप दिइनेछ ।
बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।
महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालय टेकुबाट खोप र अन्य सामाग्री केन्द्रसम्म पु¥याउन ८ वटा रुटमा सवारी साधन परिचालन गरेको छ । पहिलो रुटमा वडा ११, १०, ३१ र ३२ हो भने दोस्रो रुट ९, ८, ७ र ६ हो । तेस्रो रुट २७, २८, २९ र ३० वडालाई राखिएको छ भने चौथो रुटमा वडा १, ५, ४ र ३ लाई राखिएको छ । पाँचौ रुटमा वडा १४, १३ र १५ छन् भने छैटौँ रुटमा १९, १६, २६ र २ रहेका छन् । सातौँ रुटमा वडा २०, १७, १८ र २५ लाई राखिएको छ भने आठौँ रुटका रुपमा वडा १२, २१, २२, २३ र २४ लाई राखिएको छ ।

खोप लगाउन जाँदा पालना गर्नुपर्ने सर्त
खोप लिन जाँदा पालना गर्नुपर्ने केही नियम र सर्तहरु खोप केन्द्रको बाहिर टाँसिएका छन् । जसअनुसार ज्वरो आएका वा कोविड संक्रमणको लक्षण देखिएका र संक्रमण भएका व्यक्तिले खोप लगाउन मिल्दैन । कार्ड नभएकालाई खोप दिइने छैन । खोप केन्द्रमा जाँदा अनिवार्य मास्क लगाउनु पर्नेछ । खोप केन्द्रमा आपसी दुरी कम्तीमा २ मिटर कायम गर्नुपर्नेछ ।
...

All Comments.......


Please Login/Register To Comments