भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि जारी रह्यो । ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि २१ गतेसम्ममा रु चार करोड ६० लाख ४५ हजार ४२ रुपैयाँं ८७ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । यसै क्रममा मिति २०७८ जेठ २१ गते शुक्रबार मात्र रु २७ लाख ५४ हजार ६४ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गरे । त्यस क्रममा उनीहरुले विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुमा नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गरे ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।

...

All Comments.......


Please Login/Register To Comments