भक्तपुर । घाँस काट्न गएकी महिलाले कानमा लगाएको सुनको रीङ तानी जंगलै जंगल भाग्ने दुई जना लुटेराहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ छाप बस्ने बर्ष ४५ की पार्वती गुरुङ चिहानडाँडा जंगलमा घाँंस काटिरहेको बेला आई लुटेर भाग्ने सिन्धुपाल्चोक बन्जेमाने ३ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका ६ बस्ने बर्ष ३१ को बिशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नं. २ स्याउले घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका ६ बस्ने बर्ष ४८ को मंगल तामाङलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार शुक्रबार अन्दाजी साढे एक बजेको समयमा दुई जना पुरुष ब्यक्तिहरु आई निज पार्वतीले कानमा लगाएको सुनको रीङ तानी जंगलैजंगल काठमाडौ शंखरापुर नगरपालिका वडा नं. ६ सलम्बुटारतर्फ भागी फरार भएका थिए । घटनाबारे जानकारी लगतै महानगरीय प्रहरी प्रभाग चाँगुनारायण, खरीपाटी, नगरकोट र स्थानीयबासीहरुको सहयोगमा निज लुटेराहरु भाग्न उम्कन सक्ने नाकाहरु छेकी काठमाडौ जिल्लाको महानगरीय प्रहरी प्रभाग साँखु काठमाडौलाई उक्त घटनाको बारेमा जानकारी गराई काठमाडौतर्फबाट घेराबन्दी गर्दै खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनको रीङ लुटी फरार भएका बिशाल र मंगललाई शंखरापुर नगरपालिका वडा नं. ६ सलम्बुटार पुगेपछि फेला पारी चेकजाँच गर्दा लुटिएका सुनका रीङ थान दुई (एक जोर) र खुकुरी समेत बरामद गरेको परिसरका डीएसपी दीपक गिरीले जनाए । घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले जनाए । साथै कानमा लगाएको रीङ तान्दा पार्वतीको दुबै कानको लोती च्यातिएकोमा निजको स्थानीय अस्पतालमा उपचार भइसकेको  प्रहरीले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments