काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भोलि नै मन्त्रिपरिषद् विस्तार गर्दै छन् । उनको मन्त्रिपरिषद् विस्तारमा सांसद अपहरण काण्डका आरोपित महेश बस्नेतदेखि रातो पासपोर्ट बेचेका नारदमुनि रानासम्मको चर्चा छ । यसै गरी ७० घुस काण्डमा चर्चा कमाएका गोकुल बास्कोटालाई पनि ओलीले सरकारमा ल्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले अहिले ८ वटा मन्त्रालय आफूसँग राखेका छन् । स्रोतका अनुसार माधव नेपाल पक्षसँग सहमति भयो भने उनले केही मन्त्रालय माधव पक्षलाई दिने भएका छन् । बाँकी मन्त्रालय आफू निकट व्यक्तिलाई दिने गरी तयारी गरेका छन् । ओली निकट स्रोतले भन्यो, ‘ओलीले आइतबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । माधव नेपाल पक्षसँग सहमति हुने अवस्था देखिए पछि उनले माधव नेपाल पक्षलाई पर्खेका छन् ।’
रातो पासपोर्ट बेचेको मुद्दा खेपी रहेका नारदमुनि राना ओली सरकारमा जान लागि परेका छन् । रानाले कैलाली ४बाट चुनाव जितेका हुन । नेपाली काँग्रेसकी नेतृ आरजु देउवालाई पराजित गरी उनले चुनाव जितेका हुन् । २०६४ सालको संविधान सभाको चुनावमा विजय भए पछि उनले आफूसँग भएको रातो पासपोर्ट १० लाखमा बेचेका थिए । त्यस बेला उनले अस्ट्रेलिया जाने एक व्यक्तिलाई रातो पासपोर्ट बेचेका थिए । रानाले रातो पासपोर्ट दुरुपयोग गरेको थाहा भए पछि यस विषयमा विशेष अदालतमा मुद्दा प¥यो। विशेष अदालतले २०७२ साउन २६ मा उनलाई दोषी देखायो । अहिले यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । उनले २०७४को निर्वाचनमा कैलालीबाट निर्वाचित भएका थिए ।
त्यसो त, रातो पासपोर्ट बेचेर बदनामी कमाएका राना एक्लो सांसद होइनन् । २०६४ सालको संविधान सभाका सभासद् बिपी यादव, शिवपुजन यादव तथा गायत्री साहले पनि रातो पासपोर्ट बेचेर बदनामी कमाएका थिए । त्यस बेला बदनामी कमाएका शिव पूजन र गायत्री साह अहिले राजनीतिबाट पुरै हराएका छन्। बिपी यादव भने बेला बेलामा चर्चामा आउने गरेका छन् । रानाले भने २०७४ को चुनाव जिते ।
महेश बस्नेतले पोहर साल तत्कालिका समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौँ ल्याउनेदेखि केही दिन अघि महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष धरका सांसदहरूलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा पु¥याउने कामसम्ममा  प्रधानमन्त्रीलाई सहयोग गरेका थिए । ओली सरकारलाई जोगाउन  सहयोग गरे बापत बस्नेतले अहिले मन्त्री पद पाउने भएका छन्–स्रोतले भन्यो । स्रोतका अनुसार, बस्नेतले उनलाई गृहमै ल्याउन आग्रह गरे पनि प्रहरी प्रशासनले उनलाई त्यति नरुचाएको कारण ओलीले बस्नेतलाई गृह दिन हिचकिचाएका छन् ।
मन्त्रिपरिषद् विस्तारमा खगराज अधिकारी, शान्ता चौधरी, विशाल भट्टराईको नाम पनि मन्त्रीमा चर्चा छ । आगामी चुनावमा प्रभाव पार्ने गरी ओलीले आफू निकट व्यक्तिलाई गृहमा ल्याउने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले माओवादी छाडेर एमाले आएका केही व्यक्तिलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । स्रोत ः हाम्रो कुराबाट...

All Comments.......


Please Login/Register To Comments