भक्तपुर । उपचारका लागि आएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालको एनएक्स वार्ड सिल गरिएको छ । शनिबार राति अस्पतालमा मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि आएकी काभ्रेकी १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सो वार्ड शनिबार रातिबाट नै शिल गरिएको अस्पताल प्रशासनले जनाएको छ । काठमाडौंको बीर अस्पतालबाट मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि रेफर गरिएकी बालिकाको शल्यक्रिया पूर्व गरिएको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । उनलाई थप उपचारका लागि शनिबार राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जनाइएको छ । बालिकाको उपचारमा संलग्न अस्पतालका १२ जना नर्स, ५ जना डाक्टर, एनएक्स वार्डमा रहेका १३ जना बिरामी र १३ कुरुवा सबैलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन गरिसकेको समेत जनाइएको छ । अस्पतालका अन्य सेवाहरु भने सुचारु रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments