विश्वराम दुवाल
भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रका बजारमा सोमबार अनुगमन गरिएको छ । मध्यपुर थिमिको बोडे रोड क्षेत्रका खाद्यान्न, औषधि र फलफूल पसलमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालको नेतृत्वको टोलीले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु नष्ट गरिएको छ ।
अनुगमनमा रमेश थापा स्टोरमा मारी बिस्कुट १ कार्टुन, चामलको पीठो १८ प्याकेट, ह्वाइट पेपर (५०० ग्राम) को ११ प्याकेट, सोयाबिन तेल २ लिटर काँक्राको अचार २ बट्टा, मसला पाकेट ११ बट्टा (कीरा परेको) डेरिमिल्क चकलेट ठूलो साइजको १ पाकेट, पपया साबुन १५ वटा म्याद नाघेको जफत गरी नष्ट गरिएको दाहालले जानकारी दिए ।
उनका अनुसार उक्त स्टोरले खरिद बिल, बिल÷बिजक देखाउन नमानेकोले ७ दिनभित्र सम्पूर्ण कागजात लिई घरेलु तथा सना उद्योग कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ । त्यस्तै भीमसेन ट्रेड सेन्टर फर्ममा पसलको साइनबोर्ड र मूल्यसूची उपभोक्ताहरुले देखिने ठाउँमा राख्न सुझाव दिइएको उनले बताए ।
उक्त पसलमा म्याद नाघेको चिल्ली सस ५ किलो, कपालमा लाउने तेल ३ वटा र भीमसेन खाद्य उद्योगमा बिस्कुट २१ प्याकेट, मरिच २ प्याकेट, सोयाबिन तेल १ प्याकेट, चाउचाउ १८ प्याकेट, कीरा लागेको छुर्पी ४ प्याकेट जफत गरी नष्ट गरिएको छ ।
भरत किराना तथा ग्यास बिक्री पसलमा ग्यासको अनुमतिपत्र लिनुपर्नेमा नलिएको, मूल्यसूची सर्वसाधारणले देखिने ठाउँमा नराखेको र ढक तराजु समयमा नै नवीकरण नगरेकाले ती सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।
त्यस्तै निकेश फर्मेसीबाट कुनै पनि निकायमा दर्ता नभएको सेनिटाइजर २६ थान जफत गरी नष्ट गरिएको छ । उक्त फार्मेसीलाई सम्पूर्ण कागजात लिई उद्योग कार्यालयमा सम्पर्क गर्न पनि निर्देशन दिइएको छ ।
कार्यालय प्रमुख दाहालका अनुसार गुड लाइफ फर्मेसी ललितपुरमा दर्ता भएको देखिएको तर कुनै पनि निकायको अनुमति नभएको र सम्बन्धित व्यवसायीसमेत उपस्थिति नरहेकाले तत्काल पसल बन्द गरिएको बताए । ती व्यवसायीलाई ७ दिनभित्र घरेलु कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।
त्यस्तै अशोक सहानी फलफूल पसलमा कुहिएको मेवा ५ किलो, अंगुर २ किलो, खर्बुजा १० किलो जफत गरी नष्ट गरिएको छ । उक्त पसल कुनै पनि सरकारी निकायमा दर्ता नभएकाले ७ दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत लुमा श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख शिक्षक वीरेन्द्र सैंजु, कार्यालय सहायक हरिदत्त जोशी, औषधि व्यावस्था विभागका अरविन्द बानिया, भक्तपुर उद्योग वाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका श्याम श्रेष्ठलगायतको उपस्थिति थियो ।...

All Comments.......


Please Login/Register To Comments