भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठको सभापतित्वमा कोभिड १९ बाट उद्योग व्यवसायको क्षेत्रमा परेको असर बारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । संघका सदस्य बस्तुगत संघहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कोभिड १९ ले समग्र देशको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव र जिल्लामा रहेका विभिन्न संघहरुले आफ्ना सदस्यहरुको पुनरोत्थानका लागि चाल्नु पर्ने कदमको विषयमा गहन छलफल भएको थियो ।
अध्यक्ष श्री प्रदिप श्रेष्ठले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नु हुँदै कोभिड १९ ले श्रृजना गरेको जटिल अवस्थासित सबै संघहरु एकजुट भई लाग्नु पर्ने कुरामा जोड दिनुभयो । भक्तपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको संयोजन तथा पहलमा आयोजना गरिएका विभिन्न चरणका बैठकहरुमा नेपाल सरकारका सम्बन्धित निकायहरु समक्ष उद्योग व्यवसाय क्षेत्रको हितका लागि पैरवी गरेको विषयमा पनि प्रकाश पार्नु भयो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत बाग्मती प्रदेश सित मिलेर उद्योगी व्यापारीहरुको समस्या हल गर्ने खालका कार्यक्रमहरुको पहिचान गरी अघि बढ्ने योजना भएको पनि जानकारी गराउनु भयो । जिल्लाका स्थानीय निकायहरुसित मिलेर दिर्घकालिन योजना तर्जुमा गर्न तिर पनि संघ लागिपरेको बताउनु भयो ।
संघका बरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले यस्तो विषम परिस्थितिमा पनि कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण प्रतिनिधिहरुलाई उद्योग वाणिज्य क्षेत्रको विकास प्रति दर्शाउनु भएको सम्बेदनशीलताको प्रशंसा गर्नु भयो । वहाँले यस कठिनाईको घढीमा एक आपसमा सहयोगको महत्वको बारे चर्चा गर्दै कुनै पनि सदस्यलाई कुनै कठिनाई परेमा भक्तपुर उद्योग वाणिज्य संघ सहयोग गर्न हरदम तत्पर रहेको कुरा बताउनु भयो ।  
कार्यक्रममा संघका एसोसियट्स् तर्फका उपाध्यक्ष श्री कृष्ण मुरारी न्यौपानेले आर्थिक अध्यादेश २०७८ र यसमा व्यवस्था भएका कर सम्बन्धी संघका सदस्यहरुको लागि उपयोगी बुँदाहरुमाथि प्रकाश पार्नु भएको थियो । त्यस्तै संघ अन्तर्गत राजश्व परामर्श समितिका संयोजक तथा कार्य समिति सदस्य श्री राजेन्द्र प्रसाद प्रजापतिले भक्तपुरका चारै वटा नगरपालिकाहरुको राजश्व सम्बन्धी बैठकहरुमा उद्यमी व्यवसायीहरुका लागि व्यवहारिक कर तथा राजश्व नीति हुनु पर्ने विषयमा जोडदार आवाज उठाएको बताउनु भयो । कार्यक्रममा लेखा परिक्षक संघ भक्तपुुरका अध्यक्ष श्री हिरा रत्न बज्राचार्यले आर्थिक अध्यादेश २०७८ मा कर छुट सम्बन्धी व्यवस्थाबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।सो कार्यक्रममा संघका गतिविधि तथा भावी रणनीतिहरुबारेमा महासचिव श्री रोशनी मैंया धौबञ्जा तथा कार्य समिति सदस्य श्री विश्वराम दुवालले पनि बिचार व्यक्त गर्नु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका २० बस्तुगत संघहरुको सहभागिता रहेको थियो ।...

All Comments.......


Please Login/Register To Comments