भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिकता प्राप्त व्यक्तिको आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारको सुनिश्चितता गर्ने हुँदा कुनै पनि विदेशी नागरिकले नेपालको नगरिकता लिन नसकोस् भन्नेमा राज्य जहिले पनि सचेत हुनुपर्ने बताउनुभयो ।
धान दिवसको अवसर पारेर भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा सोमबार आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले अंगीकृत नागरिकता प्राप्त व्यक्तिहरू देशको प्रमुख पदमा बाहेक अरु कुनै पनि पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन सक्ने भन्दै प्रमुख प्रजापतिले नेपालमा नेपालीहरू विदेशीबाट शासित हुनुपर्ने अवस्थामा जोगाउनुपर्ने बताउनुभयो ।
नेपालकै अग्लो भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा नगरबासीहरुको उत्साहजनक जनश्रमदान भक्तपुरको उत्कृष्ट विशेषताको रुपमा चिनिंदै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले इमानदारिता, पारदर्शिता र आर्थिक अनुशासनकै कारण भक्तपुरमा उपभोक्ता समितिमार्फत हुने विकास निर्माण कार्य सफल कार्यान्वयन हुन सकेको बताउनुभयो ।
अमेरिकी एमसीसी सम्झौता केबल गुलियो पोतेको विषय भएको इंगित गर्नुहुँदै उहाँले एमसीसी अनुमोदन हुनु भनेको देशको सार्वभौमिकतामै खतरा हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाको विकास निर्माण कार्यहरुबारे अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषिसँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले विश्व सम्पदामा सूचीकृत ङातापोल मन्दिरमा जनश्रमदान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा वडा नं. १ का इन्चार्ज लक्ष्मीनारायण खत्री, नेक्रामहिला संघ भक्तपुरका संयोजक कृष्णप्यारी भुजु, वडा सदस्य गंगालक्ष्मी बमनु, शिवलक्ष्मी दुवाल र विकुलक्ष्मी कोजुले पनि समसामयिक विषयमा आ—आफ्नो धारणा राख्नुभयो ।    

...

All Comments.......


Please Login/Register To Comments