भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा दशौं नगरसभाको बैठक मंगलबार बस्यो ।
सभाको विशेष समयमा नगर सभासद्हरुले नगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खानेपानीलगायतका स्थानीय समस्याहरु र अन्य समसामयिक विषयहरुमा आ—आफ्नो धारणा राख्नुभयो ।
सभासद्हरुले क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोध र चुरे क्षेत्रमा जथाभावी रुपमा अवैध रुपमा खुल्ने गरेका क्रसर उद्योगका कारण चुरे संरक्षणमा चुनौती थपेको भन्दै नगरसभामा सोको विषयमा विरोध प्रस्ताव पारित गर्न माग गर्नुभयो ।
सभाको विशेष समयमा बोल्नुहुँदै सभासद्हरु हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां, सिद्धिराम अवालले नगर प्रहरी नियुक्ति गरी परिचालन गर्नुपर्ने, समय समयमा नगरका सडक बत्ती मर्मत गर्नुपर्ने, इन्द्रायणी पीठ अगाडिको ढुंगेधाराको निकास खोल्न सम्बन्धित निकायसँग आवश्यक छलफल गर्नुपर्ने, नपाद्वारा सञ्चालित कलेजमा सामाजिक ल्याबको व्यवस्था गर्नुपर्ने, वर्षाको समयमा हुने डुबान र सम्भावित जोखिम न्युनीकरणको लागि आवश्यक पहल गर्नुपर्नेलगायतको विषयमा ध्यानाकर्षण गराउनुभयो ।
साथै सभासद्हरु राजेन्द्र माक, पूर्णगोपाल राजचल, सूर्यप्रसाद श्रेष्ठ, गोविन्द दुवाल, रन्जना त्वातीले सार्वजनिक शौचालयहरुको सरसफाइ र आवश्यक सफाई मजदुर राख्नुपर्ने, मुख्य सडकपेटीमा वृक्षारोपणका साथै विरुवाको स्याहार गर्नुपर्ने, विद्यालयहरुलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएको नक्साको विषयमा नयाँ पुस्तालाई पठनपाठन गराउनुपर्ने, पर्ति जग्गा संरक्षणमा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो ।
आजको सभामा भक्तपुर नगरपालिकाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य रबिन्द्र ज्याख्व, निर्माण समितिका संयोजक उकेश कवां, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि तथा बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, न्यायिक समितिका संयोजक तथा अपांगता परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति रजनी जोशीले सम्बन्धित समितिहरूबाट भएका कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सभाको अर्को बैठक २०७८ असार १७ गते बिहीबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।...

All Comments.......


Please Login/Register To Comments