काठमाडौं । नेकपा एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन । तर, आइतबार राति प्रतिनिधि सभामा मतदान दिँदा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन् ।

त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद तटस्थ बसेका छन् । सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा माधव नेपाल पक्षका २३ सांसद थिए । यी मध्ये झलनाथ खनाल दिल्लीमा उपचाररत छन् । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे ।

सर्वोच्चमा हस्ताक्षर गर्नेमध्येका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतैपनि मत दिएनन् ।

उता, केपी ओली पक्षका आठ सांसदले देउवाको पक्षमा मत दिएका छन् । देउवाको पक्षमा मत दिने ओली निकट सांसदहरुमा प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी छन् ।

प्रतिनिधि सभामा नेकपा एमालेका कुल १२१ सांसद रहेका छन् । तीमध्ये ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ ।

...

All Comments.......


Please Login/Register To Comments