भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा सोमबार भेटवार्ता भयो । भेटको क्रममा सांस्कृतिक नगर भक्तपुरमा प्रमुख प्रजापतिले मुख्यमन्त्री पौडेललाई पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गर्नुभयो । 
भेटमा मुख्यमन्त्री पौडेलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गर्नुहुँदै प्रदेश सरकारले प्रदेशका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामाग्री र आवश्यक सहयोग गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको पृथक पहिचान भएको बताउनुहुँदै देशको अरु स्थानीय तहले भन्दा भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पर्यटन उद्योगको विकासमा उदाहरणीय काम गरिरहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेशले सुरुमा शुन्यबाट सुरु गर्दै हाल आवश्यक ऐन नियम बनाई प्रदेशलाई व्यवस्थित गर्दै लगिएको बताउनुहुँदै मुख्यमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई अगाडि बढाउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । 
उहाँले सीमित स्रोतसाधनलाई अधिकत्तम सदुपयोग गर्दै तीनै तहका सरकारहरुले आअफ्नो क्षेत्रको समानुपातिक विकास गर्न सके देशको सन्तुलित विकास हुने धारणा राख्नुभयो ।
देशका सबै स्थानीय तहहरुका आआफ्नै विशेषता, क्षमतामा साधन र स्रोतको उपलब्धता भिन्नभिन्न हुने भएकोले विकासका मोडलहरु पनि फरक फरक हुने बताउनुहुँदै उहाँले आफ्नो आवश्यकताअनुसार आफ्नो क्षेत्रको विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त विशेषताहरु प्रस्तुत गर्नुहुँदै नगरपालिकाले नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माण, सरसफाईलगायतका क्षेत्रमा गरिरहेका गतिविधि र उपलब्धीबारे जानकारी गराउनुभयो ।
भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताल निर्माणको लागि प्रदेश सरकारबाट प्राप्त सहयोगको लागि आभार प्रकट गर्नुहुँदै प्रमुख प्रजापतिले आगामी दिनहरुमा पनि प्रदेश सरकारको तर्फबाट ख्वप अस्पताल निर्माण तथा उपकरण व्यवस्थाको लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ‘सक्षम स्थानीय तहहरुलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालन गरी समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ’ भन्नुभयो ।
प्रमुख प्रजापतिले २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु मौलिक शैलीमै पुनःनिर्माण गरिरहेको र नगर भित्र मौलिक शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई अनुदान प्रदान गरी उत्साहित गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालन, टोलटोलमा निःशुल्क खुल्ला व्यायामशाला सञ्चालन, गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई रु. ५ लाखसम्मको शैक्षिक ऋण, इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा विषय अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
भेटघाटपश्चात मुख्यमन्त्री डोरमणि पौडेलका साथ बागमती प्रदेश सभा सदस्य दिपक निरौलालगायतको प्रतिनिधिमण्डलको टोलीले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, जनस्वास्थ्य सेवा केन्द्र, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड युनिट र ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो । अवलोकनका क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले नपाबाट सञ्चालित कलेज तथा अस्पतालको विषयमा विभिन्न जिज्ञासा राख्नुहुँदै अस्पताल तथा कलेजहरुबाट प्रवाहित सेवा तथा सुविधाहरुबारे जानकारी लिनुभयो ।
भेटमा नेमकिपा बागमती प्रदेशका सभासद्द्वय सुरेन्द्रराज गोसाईं र सृजना सैंजु, भक्तपुर नपाकाउपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


...

All Comments.......


Please Login/Register To Comments