भक्तपुर । भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा मंगलबार दिउँंसो १ बजे भक्तपुरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर समाजले स्व.अरुण थापा स्मृति दिवस–सांगीतिक श्रद्धाञ्जली कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
गीतसंगीतमार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए । सचिव बज्राचार्यका अनुसार सो कार्यक्रम भक्तपुर दुधपाटीको भार्वाचो गेटस्थित होटल ‘दि तिशा इन’ मा सम्पन्न गरिने तयारी रहेको छ । भक्तपुरमा विगत ३ वर्षदेखि निरन्तररुपमा अरुण थापाको स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको समाजले यो वर्ष पनि यसलाई निरन्तरता दिएको कार्यक्रम संयोजक समेत रहँदै आएका सचिव बज्राचार्यले बताए ।
कार्यक्रममा गीतसंगीत क्षेत्रमा विशिष्ठ योगदान दिएका र गीतसंगीतका विशिष्ठ पारखीहरुको भौतिक उपस्थिति रहने समाजका अध्यक्ष एवं गायक प्रविण शाहीले जनाएका छन् । कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम भब्य गर्ने तयारी गरिएको बताए ।
सस्थाका उपाध्यक्ष एवं गायक कपिल कस्पालले कार्यक्रम जनसंचार टिभीमार्फत घरमै बसेर हेर्न सकिने तथा समाजको फेसबुक र युट्युब च्यानलमार्फत जहाँ बसेर पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रवन्ध मिलाइएको बताएका छन् । कार्यक्रमको स्पोन्सर गुडविल कन्सल्टले गरेको छ भने फोटोग्राफ पार्ट्नर क्याप्चर मोसन नेपाल र साउण्ड पार्टनर आराधना समूह रहेको छ ।
अरुण थापाको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो । उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो । अरुण थापा ३ वर्षको हुँदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थालेको हो । उनी नेपालमै हुर्किए । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भए पनि सांगीतिक जीवन भने अमर अजर रहेको छ ।...

All Comments.......


Please Login/Register To Comments