प्रविण शाही
नेपाली सांगीतिक ईतिहासमा निकै कम संख्यामा  गीत गाएर पनि श्रोताहरु माझ भने अपार माया पाएका निकै कम गायक श्रष्टामध्ये एक हुन गायक, संगीतकार स्वर्गीय अरुण थापा। श्रोताको मन छुने कालजयी गीत गाएर सधैका लागि अजम्बरी बनेका तिनै गायक थापालाई साउन ५ गते भक्तपुरमा सम्झीइएका छन् ।
भक्तपुरको सांगीतिक बिकासमा प्रतिबद्द भक्तपुर सांगीतिक समाजले स्व. अरुण थापाको २२ औं पुण्य तिथिको अवसर पारेर मंगलवार उनलाई  उनकै  गीत संगीत मार्फत सम्झना गरेको हो । बि. सं २००८ सालमा जन्मिएका थापाको २२ वर्ष अघि साउन ५ को  दिन अल्पायुमै निधन भएको थियो । २०५६ सालमा रोगले थलिएर काठमाडौ बागबजारमा उनको देहान्त भएको थियो।
गायक थापाको भौतिक र सांगीतिक यात्रा छोटो भए पनि उनीद्वारा गाइएका गीतहरु भने अजर अमर रहेको छ। मंगलवार भक्तपुरको दुधपाटीस्थित “दि टिसा इन“ मा भएको सांगीतिक श्रद्धान्जली कार्यक्रममा सहभागीहरुले गायक थापाको कालजयी गीतहरु  गुनगुनाउनुका साथै उनको स्मृती संग जोडिएका बिबिध पक्षहरुबारे समेत बिचार आदानप्रदान गरी भावपूर्ण सांगीतिक श्रद्धान्जली अर्पण गरे ।
स्वर्गीय थापाले गाएको राष्ट्रिय गीत भावनाले ओतप्रोत गीत “करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल“ गीतलाई सांगीतिक धुनबाट शुरु भएको सांगीतिक श्रद्धान्जली कार्यक्रममा गायक शम्भोचरण राजभन्डारीले भजन “तिमी राम राम भजि बाँच“ बोलको गीत गाए भने भक्तपुरका पुराना गायक सत्य नारायण प्रजापतिले थापाको अत्यन्त चर्चित गीत “चोट के हो ब्यथा के को“ मार्फत गायक थापा “बिछोडका गीतहरुका श्रष्टा“ हुन भन्ने पगचबब सम्झाइ दिए। भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष समेत रहेका गायक कपिल कसपालले “ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ“ बोलको गीत गाएका थिए भने अर्का गायक बिजेन्द्र चवालले अरुण थापा द्वारा गाईएको “रोमान्टिक“ गीत  “भुलु भुलु लाग्यो मलाइ सपनीमा“ गाउँदै माहौल लाई दुःखदबाट सुखद तिर धकेले ।
त्यसैगरी गायक कुबेर राइले  अरुण थापाको अर्को “ट्रेडमार्क“ गीत “जति माया लाए पनि जति कसम खाएपनि“ बोलको गीत स्वर्गीय थापाको स्मृतीमा समर्पण गरे भने “आखाँको निंद चोरी लाने“ लाई गायक श्रीजल मधिकर्मीले प्रस्तुत गरे । कार्यक्रममा गायक सुनिल लोहलाले “लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गाउँदै गायक थापाको अभावले खट्किएको संगीत क्षेत्रकै कथा सुनाए ।
कार्यक्रममा किबोर्डमा बाध्यबादक कृष्ण सुन्दर सुखुजु,हार्मोनियममा शम्भोचरण राजभण्डारी, रिदम गितारमा सुनिल लोहला,गितारमा सरोज के.सी. र तबलामा रोशन भाषिमाले साथ् दिएका थिए ।
उक्त अवसरमा गायक थापाको  अत्यन्त कर्णप्रिय गीत “चोट के हो ब्यथा के हो“ का रचयिता समेत रहेका वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल र अर्का वरिष्ठ गायक  एवं गायक रोशनकुमार राजभण्डारीको आतिथ्यता रहेको थियो । उनीहरुले इच्छा शक्तिकै कारण भक्तपुर सांगीतिक समाजले स्वर्गीय गायक अरुण थापाको स्मृतीमा बिगत ४ वर्षदेखि निरन्तर श्रद्धान्जली कार्यक्रम गरिरहेको स्मरण गर्दै अन्य संगीतकर्मीहरुको समेत स्मृतीमा कार्यक्रम गर्न प्रेरित गरे । उनीहरुले गायक थापा मरेर गएपनि उनका गीतहरुबाट अमर रहेका भन्दै हामी पनि मरेर जाँदा समाजलाई केहि दिएर जानुपर्नेमा जोड दिएका थिए ।
भक्तपुर सांगीतिक समाजका अध्यक्ष एवं गायक प्रविण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन किरण सुवालले गरेका थिए । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन को उद्देश अनुरुप यस्ता कार्यक्रम गर्दै आएको र यस्को निरन्तरताको खाचो रहेकोले यस्तो कोरोनाको बिषम परिस्थितिका बाबजुद यो कार्यक्रम गर्न सकेको खुशी व्यक्त गर्दै अध्यक्ष शाहिले सबै सम्बन्ध पक्ष प्रती आभार व्यक्त गरे।।उक्त अवसरमा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई उनीहरुले सामाजिक जीवनमा पाएको पछिल्लो सफलताका लागि सम्मान समेत गरिएको थियो ।
को हुन् गायक अरुण थापा ?
‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ‘..’ हो, यो गीत जस्तै गायक अरुण थापा पनि हरियाली बसन्त नै हुन् । उनको भौतिक शरिर हामी माझ नभए पनि गीत संगीतको माध्यमबाट उनी बाचिरहेका छन् । हामी धेरैलाई यो कुरा थाहाँ नहुन सक्छ, उनले गाएको ऋतुहरूमा तिमी‘ बोलको गीत एकचोटी विश्वका उत्कृष्ट गीतहरूको नोमिनेसनमा समेत परेको थियो ।
उनले जीवनमा बसन्त मात्र गाएका छैनन् ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ उनकै वास्तविक कहानी बनेर हामी माझ हरेक साउन ५ मा बिझाइरहन्छ र हामी सम्झिरहन्छौँ जादूमय स्वरका धनी अरुणलाई ।अरुण थापाको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो भने उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो । अरुण थापा ३ वर्षको हुँदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थालेको हो । उनी नेपालमै हुर्किए । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भएपनि सांगीतिक जीवन भने अमर अजर रहेको छ ।
उनको गीत ‘चोट के हो, ब्यथा के हो’ ले व्यथालाई नै बिर्साइदिन्छ र दुखः भित्र सुख खोज्न थाल्छ मान्छे अनि उनले जति ‘भुलु भुलु लाग्यो मलाई’ भने पनि उनको याद झन् झन् ताजा बनेर आइदिन्छ ।
जति माया लाए पनि,साझको जुन सँग, बितेका मेरा तिता मिठा, दोष कसैलाई दिन चाहन्न, अरु सँग नजोख मलाई, जिन्दगी के छ र आखिर, तिमी हेर्छौ भने, न पोखिने न जोखिने, आँखाको निद खोशी लाने, यो मनको के भर हुन्छ, भुलेका कथा, जिन्दगीका का यात्राहरु, नपोखिने नजोखिने, यो मन को के भर हुन्छ जस्ता सदावहार गीत पस्केर गायक अरुण थापा नेपाली सांगीतिक दुनियामा सधै अमर अजर बनेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments