भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानबीच बिहीबार नगरपालिकामा भेटघाट भयो । प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरमा राजदूत मानलाई पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गर्नुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त परिचय र विशेषताहरु अवगत गर्नुहुँदै नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माण, सरसफाईलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर जनताको सेवा गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरु नेपाल मजदुर किसान पार्टीका रहेको जानकारी दिनुहुँदै उहाँले नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीच राम्रो सम्बन्ध रहेको बताउनुभयो ।
उहाँले प्रजग कोरिया र कोरियाली जनताको साम्राज्यवादविरोधी भावनाबारे पार्टीका विभिन्न प्रकाशनहरु तथा भनपाको प्रकाशन ‘भक्तपुर’ मासिकमार्फत पार्टी कार्यकर्ताहरु र जनतालाई जानकारी दिंदै आएको स्पष्ट पार्नुभयो ।
किम इल सङ कोरियाली जनताको मात्र नभई संसारभरका कामदार वर्गका जनताका प्रेरक व्यक्तित्व भएको उल्लेख गर्नुहुँदै सानो देश भएर पनि प्रजग कोरियाले शक्तिशाली देश सं .रा. अमेरिकालाई चुनौती दिएर संसारका पिछडिएका देशहरुलाई हौसला प्रदान गरिरहेको छ भन्नुभयो ।
 प्रजग कोरियाका महामहिम राजदूतमार्फत प्योङयाङ शहरका मेयरलाई बधाइ तथा शुभकामना पु¥याइ दिन आग्रह गर्नुहुँदै उहाँले दुइ पक्षबीच यस्ता भेटघाट र विचार आदानप्रदानले दुइ देशको सम्बन्ध जनस्तरमा प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा राजदूत मानले सांस्कृतिक एवम् ऐतिहासिक नगर भक्तपुरको मैत्रीपूर्ण भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले प्रजग कोरियाका विकासका आधारहरु अरु मुलुकहरुमा बाँड्न चाहेको बताउनुहुँदै सारा कोरियाली जनता समाजवाद निर्माणमा एकजुट भएर लागिरहेको बताउनुभयो ।
प्रजग कोरियाले अपनाएको सतर्कताले अहिलेसम्म देशमा एकजना पनि कोभिड संक्रमण नदेखिएको र भक्तपुर नपाले कोरोना रोकथाम र नियन्त्रणमा गरिरहेको प्रयासको राजदूत मानले प्रशंसा गर्नुभयो ।
किम जोङ उनको नेतृत्वमा प्रजग कोरियामा सबै कामहरु राम्रोसँग अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै उहाँले प्रजग कोरियाले कोरियाली जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गरेको, बालबालिकाको सर्वा∙िन विकास तथा सबै क्षेत्रमा राम्रो विकास भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको घरदैलो नर्सिङ सेवा जनमुखी रहेको बताउनुहुँदै उहाँले नगरबासीको जीवनस्तर उकास्न नगरपालिकाले खेलेको भूमिका उल्लेखनीय रहेको छ भन्नुभयो ।
भेटघाटपश्चात राजदूत मान, सल्लाहकार किम जोन ह्योक र एम्बासी अफिसर पिक जिन ह्योकको टोलीलाई नगर प्रमुख प्रजापतिले भक्तपुरको परम्परागत दही बनाउने कलाको स्थलगत अवलोकन गराउनुभएको थियो ।
सोही क्रममा उहाँहरुले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो । अवलोकनका क्रममा राजदूत जो योङ मानले जुजु धौ बनाउने विषय र यसका विशेषताबारे विभिन्न जिज्ञासा राख्नुभएको थियो भने ख्वप इन्जिनियरिङ कलेजका पुस्तकालय, प्रयोगशालाहरुलगायत विभिन्न पक्षको पनि अवलोकन गर्नुभएको थियो ।
सो क्रममा नेमकिपा बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईं, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नगर प्रमुख प्रजापतिले राजदूत मानलाई मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments