नेपाल क्षयरोग संस्था भक्तपुरका सभापती पुष्पलाल तिमिलाले नेपालमा कुल जनसंख्याको आधा जनसंख्या क्षरोगकाबाट संक्रमित भएको अनुमान गरिएको जानकारी दिनुभयो । हालै गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा प्रत्येक वर्ष ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएको उल्लेख गर्नुभयो । नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको ४२ औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित क्षयरोगको वर्तमान अवस्था र न्यूनिकरणमा हाम्रो प्रयास विषयक अन्तरक्रिया कार्यक्रममा सभापती तिमिलाले नेपालमा वर्षेनी ५ देखी ७ हजार मानिस क्षयरोगका कारण मृत्यु हुने गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा उहाँले आगामी दिनमा संस्थाले स्थानीय तहका वडातहसम्म स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, क्षयरोगी र उनीहरुका परिवारको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी लुकेर बसेका क्षयरोगीहरुलाई उपचारको दायरामा ल्याउने योजना रहेको जानकारी दिनुभयो ।


उहाँले भक्तपुरमा क्षयरोग निवारणका लागि संस्थाले समुदायमा आधारित, प्रचारात्मक र उपचारात्मक गरी तीन प्रकारका सेवा दिँदै आइरहेको जानकारी दिनुभयो । समूदायमा आधारित कार्यक्रम अन्तर्गत स्थानीय टोलबासी, पिछिडिएका वर्ग, सहकारीकर्मी, विद्यालयका शिक्षक विद्यार्थी र विभिन्न समूदायलाई अभिमुखीकरण गरिएको उहाँले बताउनुभयो । त्यस्तै उपचारात्मकतर्फ डट्स क्लिनिक सञ्चालन, खकार परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ भने प्रचारात्मकतर्फ चित्रकला, वक्तृत्वकला प्रतियोगिता, पर्चा, ब्रोसर, पम्पलेट प्रकाशन, रेडियो जिंकगल, सडक नाटक प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । त्यस्तैगरी क्षयरोग निवारणमा अग्रणी भूमिका निर्वाह गर्ने समाजसेवी, पत्रकार र स्वयमसेवीहरुलाई प्रोत्साहनस्वरुप सम्मान र नगदसहितको पुरस्कार प्रदान गर्दे आइरहेको पनि सभापति तिमिलाले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत एवम् स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बिरामीको निगरानी गर्ने संयन्त्र कमजोर हुँदा क्षयरोगीहरु हराउने गरेको र उनीहरुलाई अन्यलाई समेत सार्ने खतरा रहेको बताउनुभयो । उहाँले जोखिम समूह पहिचान गरी कार्यक्रम तल्लो तहसम्म लैजानुपर्ने, क्षयरोग निवारणमा सक्रिय संस्थाहरुबीच एकिकृत कार्यक्रमको खाँचो रहेको, बिरामीलाई उपचारसँगै पोषणको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

अहिलेको कोरोना महामारीका बेला क्षयरोगीहरुलाई नियमित औषधी सेवनको निगरानीको लागि कम्यूनिटी डट्स वा फेमिली डट्स अवधारणा लागु गर्नुपर्नेमा मिजारले जोड दिनुभयो ।
भक्तपुरमा मात्र गत आर्थिक वर्ष २०७७÷७८ मा ३७८ जना क्षयरोगका बिरामी उपचारको दायरामा आएका छन । ती मध्ये १७० जना महिला र २०८ जना पुरुष छन । उपचारका दायरामा आएका बिरामीहरु मध्ये पल्मोनरीतर्फ महिला ८३ र पुरुष १२५ गरी २०८ जना छन भने एक्स्ट्रा पल्मोनरीतर्फ महिला ८७ र पुरुष ८३ गरी १७० रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष मदनकाजी श्रेष्ठले क्षयरोग मुक्त समाज, गाउँ, नगर र नेपाल बनाउन समूदायलाई परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि अध्ययन अनुसन्धान र कार्यशाला गोष्ठीहरुको निष्कर्ष कार्यान्वयन नहुँदा क्षयरोग निवारणका लक्ष्य हासिल गर्न नसकिएको गुनासो गर्नुभयो ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका डा. धनञ्जय अर्याल, केन्द्रकै डा. सन्तोष मानन्धरले क्षयरोगको सहज उपचारका लागि सबै सरकारी अस्पताल र ठूला अस्पतालहरुका खकार परीक्षण लगायत उपचार सेवा बिस्तार गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, संस्थाका पुर्व अध्यक्ष बाबुकाजी श्रेष्ठ, नेवाः पत्रकार राष्ट्रिय दबु (नेपरा दबू)का भक्तपुर जिल्ला अध्यक्ष पत्रकार रामगोपाल तमखू, सुरेश प्रधानलगायतले क्षयरोग निवारण विभिन्न सुझाव दिनुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments