काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको पालना गराउनैका लागि बिहान ४ घण्टा मात्रै खाद्य पसलहरु खुलाइएको बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै मेयर शाक्यले उद्योगी व्यवसायीहरुसँग छलफल गरेर आएको सुझावको आधारमा यस्तो निर्णय गरिएको बताए।

‘अहिले दैनिक ज्यालादारी गरेर सामान किन्नेहरु छैनन्। उनीहरुलाई राहतको व्यवस्था गरिएको छ। त्यसैले सामान किन्नेहरुले कम्तीमा एक साताका लागि किन्नुपर्छ’ उनले भने, ‘यो समय भनेको छानीछानी सामान किन्ने समय होइन। एउटा साग किन्न चारवटा पसल चहार्नेलाई रोक्न यस्तो गरेको हो।’

कतिपय मानिसहरु घरमा नबसेर टहलिन भन्दै डिपार्टमेन्ट स्टोरहरुमा जाने गरेको समेत उनले बताए। ‘मानिस धेरै नहिँडुन भनेर सबै खालका पसलहरु बन्द गरिएको काठमाडौं महानगरका प्रवक्ता एवम् १५ नं वडाका अध्यक्ष इश्वरराज डंगोलले बताए।

‘हामीले महानगरभित्र सञ्चालित सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न भनेका छौँ’ उनले भने, ‘भित्री सडकमा सञ्चालित साना किराना पसलदेखि ठूला स्टोर र सुपरमार्केटलाई पनि यही नियम लागू हुन्छ।’

मेयर शाक्यले राहत लिनेहरु पनि एक सातासम्म घरमै बस्नुपर्ने बताए। उनले किन्न सक्नेहरुले एक साताका लागि सामान किन्ने हो भने बिहान खोलिएको चार घण्टाको समय पर्याप्त हुने बताए।

मेयर शाक्यले लकडाउनका बेलामा लुकिछिपी काठमाडौं आउन दिएकै कारणले अहिलेको अवस्था आएको बताए।

‘लकडाउनको पुर्ण पालना गरेको भए अहिलेसम्म काठमाडौं खुलिसकेको हुन्थ्यो’ उनले भने, ‘हामीले भनेको बेलामा काठमाडौं सिल गरेको भए मास्क समेत लगाउन पर्ने थिएन। तर अहिले पनि आउने क्रम रोक्न सकिएको छैन।’

महानगरले संस्थागत रुपमै काठमाडौंलाई सिल गर्न आग्रह गरेकाले यसलाई कार्यान्वयन गर्न संघीय सरकारसँग मेयर शाक्यले माग गरेका छन्।

मेयर शाक्यले उपत्यकाबासीलाई घरमा थुनेर बाहिरबाट मान्छे नल्याउन समेत संघीय सरकारसँग आग्रह गरेका छन्।

...

All Comments.......


Please Login/Register To Comments