काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का प्राचार्य प्रा डा हरिकृष्ण श्रेष्ठले नेपाल इन्जिनियरिङ काउन्सिलबाट दिइने प्रोफेसनल इन्जिनियरिङ अवार्ड पाएका छन् । अमेरिकाबाट स्नातक तथा स्नातकोत्तर गर्दै जापानबाट पिएचडी गरेका डा. श्रेष्ठ २६ वर्षदेखि नेकमा कार्यरत छन् ।


उनीसँंगै कलेजकै एसोसिएट प्रोफेसर तुसिता चाँदनी शाहीले पनि उक्त अवार्ड पाएकी छिन् । उक्त अवार्ड पाउन सफल उनी नेपालकै पहिलो महिला हुन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) का दुई प्राध्यापकसहित उक्त अवार्ड २० जना इन्जिनियरहरुले पाएका छन् ।
साउन २६ गते शनिबार काउन्सिलको कार्यालयमा आयोजित अवार्ड समारोहमा

यूकेको सिभिल इन्जिनियरहरुको संस्था आइसी यूकेका प्रतिनिधि प्रोफेसर भरतराज पाण्डेको प्रमुख आतिथ्यतामा अवार्ड वितरण भएको थियो । काउन्सिलले इन्जिनियरहरु सरोजकुमार उपाध्याय, खेमराज शर्मा, पदमबहादुर शाही, अनन्त आचार्य, इन्द्रलाल प्रधान, मनोहर श्रेष्ठ, रामप्रसाद धिताल, इन्दु शर्मा ढकाल, जयराम भट्टराईलाई पनि प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट अवार्ड प्रदान गरेको छ । यसैगरी, हरिप्रसाद ढकाल, रामकुमार लम्साल, उमेश झा, हरिओम श्रीवास्तव, प्रेमकुमार श्रीवास्तव, विन्देश्वरप्रसाद शाह, भरतराज पहारी, पदमप्रसाद पोखरेल र रुपक राजभण्डारीलाई सर्टिफिकेट प्रदान गरेको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका अनुसार केही महिना अगाडि नै वितरण गर्नुपर्ने प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट कोरोना संक्रमण र लकडाउनका कारण पछि सरेको थियो । इन्जिनियरिङ विधामा काउन्सिलले प्रदान गर्ने प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेटको छुट्टै महत्व रहेको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलले प्रदान गर्ने प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको छ । यसका लागि आइसी यूकेको अवधारणा अनुसार यसको परीक्षा हुन्छ । व्याचलर, मास्टर्स गरी २० वर्ष इन्जिनियरिङ विधामा काम गरेकाहरु सर्टिफिकेट प्राप्त गर्न योग्य रहेको काउन्सिलका रजिष्ट्रार इ. शिवमंगल गिरीले बताए ।

काउन्सिलले प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेटका लागि कार्यविधि र नियमावली नै बनाएर परीक्षा लिने गरेको छ । हाम्रो देशको लागि विलकुलै नयाँ कार्यक्रम भए पनि अन्तराष्ट्रियस्तरमा यसको निक्कै महत्व रहेको बताइएको छ । इन्जिनियरिङ विधामा ब्याचलर, मास्टर्स गरेर २० वर्षसम्म अनुभव भएकाहरुले यो सर्टिफिकेटका लागि आवेदन दिन सक्छन् । त्यसपछि काउन्सिलले कार्याविधि अनुसार उनीहरुको परीक्षा लिन्छ । त्यसमा उत्तीर्ण भएकालाई मात्र यो सर्टिफिकेट दिइन्छ ।

प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट प्राप्त गरेपछि स्वदेश तथा विदेशका ठूला प्रोजेक्टहरुमा काम गर्न सहज हुनेछ । साथै प्रोफेसनल इन्जिनियरले बनाएका ड्रइङ डिजाइनहरुले अन्तराष्ट्रिय मान्यता पाउने अवसर हुन्छ । साथै यो उपाधि पाउने इन्जिनियरहरुका लागि अन्तराष्ट्रियस्तरमा निश्चित अधिकार पनि सुनिश्चित गरिएको छ ।

काउन्सिलले अहिलेसम्म यसको परीक्षा तीनपल्ट सञ्चालन गरेको छ । हालसम्म ६१ जना इन्जिनियरहरु यसमा पास भएका छन् । काउन्सिलको बोर्ड बैठकले प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेटको परीक्षा गर्ने निर्णय पास गरेर मात्रै यसको परीक्षा लिने गरेकोमा ‘ए, वि र सी’ तहको सर्टिफिकेट प्रदान गर्नेछ । ‘ए’ तहको सर्टिफिकेट प्राप्त गर्न २० वर्ष कार्यानुभव चाहिन्छ । ‘वी’ भनेको विदेशीहरुका लागि हो । ‘सी’ं ब्याचलर गरी ४ वर्ष कार्यानुभव भएकाले लिन सक्नेछन् । काउन्सिलले अहिलेसम्म ‘ए’ तहको मात्र परीक्षा सञ्चालन गरेको छ ।

...

All Comments.......


Please Login/Register To Comments