जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी निकट पत्रकारहरुको छाता संगठन प्रेस जनमत संघ गठन भएको छ । मंगलबार पत्रकार बीपी साहको अध्यक्षतामा ५१ सदस्यीय प्रेस जनमत संघको केन्द्रीय तदर्थ समिति गठन भएको हो ।


प्रेस जनमत संघ पूर्ण प्रेस स्वतन्त्रता, व्यावसायिक एवं समावेशी पत्रकारिता र मिडिया साक्षरताप्रति समर्पित रहने अध्यक्ष साहले जनाए । सूचना, सञ्चार, अभिव्यक्ति स्वतन्त्रतालगायत मानव अधिकारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौता, मूल्यमान्यतालाई अंगीकार गर्ने जनहित पत्रकारितामा संघको विश्वास रहेको छ ।
‘हामी जन–संप्रभुता, लोकतन्त्र, सामाजिक न्याय र समाजवादको पहरेदारका रुपमा स्थापित हाम्रो संगठन पूर्ण समावेशीको पक्षधर हौं ।’ अध्यक्ष साहले भने, ‘हाल गठित केन्द्रीय तदर्थ समितिमा अझै केही पदाधिकारीहरु मनोनित गरिनेछ र आगामी ६ महिनाभित्र महाधिवेशन गरी पूर्णता दिइनेछ ।’

मधेश स्वराज आन्दोलनका प्रथम शहीद राममनोहर यादवको तेस्रो स्मृति दिवसकै दिन प्रेस जनमत संघको घोषणा गरिएको अध्यक्ष साहले बताएका छन् । साहका अनुसार मुख्यतः तराई मधेशको जिल्लासहित दुबई, कतार, साउदी र मलेसियामा पनि संघको गठन गरिएको हो ।
विगत १४ वर्षदेखि पत्रकारिता गर्दै आएका साह पत्रकारिता विषयमै स्नातकोत्तर गरेका छन् भने लामो समयदेखि पत्रकारिता प्रक्षिणसमेत दिदै आएका छन् । हाल घोषणा भएको प्रेस जनमत संघको केन्द्रीय तदर्थ समितिमा साह अध्यक्ष र बाँकी ५० जना केन्द्रीय सदस्य रहेका छन् ।
...

All Comments.......


Please Login/Register To Comments