भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट्र बैंकका प्रवक्ता  श्री देव कुमार ढकालज्यूको प्रमुख आतिथ्थमा जुमको माध्यमबाट “ मौद्रिक नीति २०७८ का सकारात्मक पक्षहरु“ विषयक एक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उद्योगी व्यवसायीहरुको जिज्ञासाहरुलाई सम्वोधन गर्नु हुदै प्रवक्ता ढाहालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको विषय उजागर गर्नुभयो । यो वर्षको मौद्रिक नीतिले कोभिड माहामारीको कारण प्रभावित क्षेत्रहरु सिनेमा हल , यातायात , पर्यटन क्षेत्र., होटल, हस्तकला उद्योेग, पार्टी प्यालेस, शिक्षा क्षेत्रलाई केही राहत दिने प्रयास भएको जानकारी दिनुभयो । कोरोनाका कारण व्यवसाय संचालन गर्न कठिनाई भोगी रहेकाहरुको लागी तथा रोजगारी गुमाएकाहरुलाई लक्षित गरी विभिन्न सहुलियत कर्जाका कार्यक्रम संचालनका रहेको  बताउनुभयो । कर्जाको व्याज भुक्तानीमा पनि व्यवसायमा परेको कोरोनाको प्रभावको आधारमा सहुलियतको व्यवस्था रहेको जानकारी गराउनु भएको थियो । सहुलियत सुविधाका बिषयमा विस्तृत जानकारी नेपाल राष्ट्र बैंकको बेभसाइटमा रहेको कुराको पनि प्रवक्ता ढकालले चर्चा गर्नुभयो ।
कुनै पनि देशको केन्द्रिय बैंकद्धारा गरिने मुद्रा तथा साख व्यवस्थापनको प्रयास नै मौद्रिक नीति हो भन्दै कार्यक्रममा सहभागीलाई स्वागत गर्नुहुदै संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठज्यूले अहिलेको यस विषम परिस्थितिमा मौद्रिक नीति सम्बन्धिको छलफलको आवश्यकता प्रष्ट्याउनु भयो । कार्यक्रमका संयोजक  एवं एशोसियट तर्फका उपाध्यक्ष श्री कृष्ण मुरारी न्यौपानेज्यूले मौद्रिक नीतिका सबल एवं सकारात्मक पक्षहरुको चर्चा गर्नुभयो । १४ वटा मुख्य दफाको चर्चा गर्ने क्रममा उहाँले घरेलु तथा साना उद्योग एवं महिला उद्यमीहरुले यो वर्षको मौद्रिक नीतिवाट धेरै लाभ लिन सक्नेमा जोड दिनुभयो । २५ लाख सम्मको विपन्न कर्जा, महिला उद्यमी कर्जा १५ लाखबाट २० लाख गरेको, कर्जाको समयाबधि पुनरावलोकन, व्याजदरमा सहुलियत, निक्षेपकर्तालाई उचित व्याजदरको व्यवस्था , विप्रृेषण बैंक मार्फत भुक्तानी लिदा १ प्रतिशत व्याजको व्यवस्था रहेको विषयमा जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले यस्तो बिषम परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी समसामयिक एवं महत्वपुर्ण विषयमा यसरी छलफल कार्यक्रमको आयोजना हुन उद्योगी व्यवसायीहरुको निम्ति लाभको विषय हो भनि शुभकामना व्यक्त गर्नभयो । संघका वरिष्ठ उपाध्यक्ष श्री शिवप्रसाद मानन्धरज्यूले भोलीका दिनमा पनि पुनः उद्योगी व्यवसायीहरुको हितको निम्ति यसप्रकारका कार्यक्रमहरुको आयोजना हुने विचार व्यक्त गर्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments