पदम दाहाल
गत जनैपूर्णिमादेखि यता आजसम्म दिनानुदिन एबिसिडि खबर डट अनलाइन भक्तपुरबाट डा. इन्दुल केसीका विषयमा केही विद्वान् वर्गले लेखेका उहाँसित संबन्धित  लेखलाई मैले नटुटाईकन पढेको छु । यस क्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा साहित्यकार हरिमञ्जुश्रीले डा. इन्दुल केसीलाई आफ्नो अध्ययनको कसौटीमा घोटेपछि उहाँ सत्यान्वेषपुरुष भनेर सारतत्व निकाल्नु भएको छ किनकि इन्दुलमा विभिन्न प्रकारका भ्रमहरूबाट उहाँ गाँजिनुभएको रहेछ र विस्तारै तिनबाट मुक्त हुँदै गएको आभास मञ्जुश्रीलाई मिलेको कुरा बताउनुहुन्छ ।
अर्को एकजना समालोचक डा. कृष्ण    प्रसाद दाहालले जनैपूर्णिमाको अवसरमा ‘डा. इन्दुल केसीसित गुरु पूर्णिमा पर्व २०७८’ को प्रसङ्ग जोड्दै ‘बहुआयामिक व्यक्तित्वका धनी साहित्यकारका अतिरिक्त समाजसेवी, स्पष्टवक्ता, मृदुभाषी, वृद्धावस्था भएपनि बालसुलभ मस्तिष्कलाई त्याग्न नसक्नुभएका साथै कसैको मनकारी व्यक्तित्वको नाम डा. इन्दुल केसी’ भनी उहाँसित आफ्नो ज्यादै निकटता रहेको कुरा लेख्नुहुन्छ ।
‘मैले चिनेका डा. इन्दुल केसी’  भन्ने शीर्षकमा भक्तपुर निवासी साहित्यकार पशुपतिमान पःमाज्यूले डा. इन्दुल केसीसँग ५७ बर्ष पहिले नेपालको सबभन्दा जेठो बोर्डिङ्ग स्कूल त्रिभुवन आदर्श विद्यालयको स्वर्गको बगैचा फर्पिङमा भएको बताउनुहुन्छ । केसीजी अध्यात्मवादी, ईश्वरप्रति श्रद्घाभाव राख्ने, वाध्यवादनका साथ भजन गर्ने, सादा जीवन उच्च विचारको आदर्श अँगाल्ने वहाँको सेवाकार्य तारिफयोग्य छ भन्नुहुन्छ लेखक पशुपति मान पःमा ।
    त्यस्तै सीमाविद् बुद्घिनारायण श्रेष्ठ आफ्नो एक लेखमा केसीलाई यसरी चिनाउनु हुन्छ कि उनी वैकल्पिक उपचार विधिका बारे पि.एच.डि. गरेका मेरा मित्र इन्दुल केसी योग थेरापी मास्टरका रूपमा योजनाकार, सपनाकार, कल्पनाकार, कानुनविद्, ठगी नगर्ने प्रशासकका रूपमा काम गरिसकेका, धेरै भाषाका ज्ञाता हुन् भन्दै बिहानदेखि बेलुकासम्म हिंड्दा थाक्तै नथाकी विविधरूपी पहिचान बोकेका बत्तिने खालका मान्छे हुन् भनी इन्दुल केसीको स्वभाव र विशेषताको  चर्चा गर्नु हुन्छ ।
    अर्को एकजना पोखरा निवासी व्यक्तित्व रामप्रसाद शर्माले ‘डा. इन्दुल केसीबाट मेरा सिकाइहरू’ भन्ने लेखमा अहिलेको नेपालमा अलपत्र परेका नेपाली युवाहरूलाई आफ्नो देशभित्र बसेर नै केही गर्न सकिन्छ भन्ने विचार दिन डा. इन्दुल जस्ता बुबाहरूको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ । यस्तो उमेरमा पुगेकाहरूबाट ज्ञान, अनुभव, त्यसको प्रयोगले सोचाइमा परिपक्वता ल्याएको हुन्छ भन्दै युवाले उहाँको कर्मप्रतिको लगाव अनि समस्यालाई समाधान गर्ने चट्टानजस्तो धैर्यताको सिको गर्न सक्नुुपर्छ भन्नुहुन्छ । समाजको कायापलट र सुधार गर्न सेवानिवृत्त जीवन बिताउनु भएका इन्दुल केसी जस्ता वयोवृद्धले पु–याएको उपकार र परोपकारका लागि समयलाई पटक्कै खेर नफाल्नु भएको कुराप्रति सचेत भै उहाँको जीवनीबाट प्रेरणा लिएर मान्छले, समाज र राष्ट्रलाई उचाल्न सहयोग पु–याउनु पर्छ भन्ने आफ्नो सारगर्भित विचार दिनुभएको  छ ।
    डा. इन्दुल केसी मेरो पनि परम् मित्र हुनुहुन्छ । दिनमा एकचोटि फोन गर्न छुटाउनु हुन्न ।
चिया लिनु भो ? नास्ता खाइसक्नु भो ? जस्ता प्रश्नका साथमा यहाँ झुल्किनु हुन्छ । उहाँ बोल्नु भएपछि अब उहाँले के नयाँ सन्देश बताउनु होला भनेर मन चुलबुल हुन्छ । उमेरमा ८० काटि सकेको भएपनि सामाजिक काममा उत्तिकै तल्लीन रहनुहुन्छ । एक मिनेट पनि फुर्सद हुनुहुन्न उहाँ । किन किन मलाई उहाँ आफ्नै घरको अभिभावकझैं लाग्छ । कहिले पाशुपतयोग, कहिले भजन संकीर्तन, कहिले शब्दयात्रा, कहिले पत्रकारिता सधंै व्यस्त, तर कसरी पो भ्याएर भएपनि फोन गर्नु हुन्छ , म आपंंंmैलाई आश्चर्य लाग्छ । उहाँसित बोलेपछि हामीबीच बहुत हँसीमजाक पनि चल्छ । चाहे कुनै सिर्जना तयार गर्नु होस् वा योजना बनाउनु परोस् पहिले उहाँ मलाई नै सुनाउनु हुन्छ, म पनि आफ्नो सिर्जना सुनाउँछु उहाँलाईृ । हामीबीच यसरी नै विषयवस्तुको आदानप्रदान चल्दछ । मेरालागि उहाँ एक माध्यम हुनुहुन्छ, उहाँले मलाई उहाँसितका चिनजानका हरेक व्यक्तित्वसित परोक्ष अपरोक्षरूपमा भेटघाट गराउनु हुन्छ र आपसी सम्पर्क गराउनु हुन्छ, यसलाई मैले एउटा महत्वपूर्ण उपलब्धि ठानेको छु  ।
    एकासी वर्षको उमेरमा घस्रिदै लट्ठीको सहारामा हिंडनु पर्ने वयोबृद्घ उमेरमा उहाँ त लक्का जवानजस्तो देखिनुहुन्छ सेताम्पुर कपाल फुलेर पनि । नयाँ नयाँ कल्पना र मौलिक विचार निकाल्नु उहाँको स्वभाव हो । उहाँ सधैं निस्फिक्री मनको, सफा, स्वच्छ, निष्कपट र पवित्र विचारको हुनुहुन्छ । उहाँमा कुटिलता छैन देखेको कुरा खुलस्त गरिहाल्ने । उहाँको चिन्तन, शैली र कामका बारे प्रशंसा गरिदियो भने उहाँ खुसी र गद्गद् भएझैं लाग्छ मलाई । उहाँ सार्वजनीन व्यक्ति कसैको कुभलो नचिताउने । धेरैलाई मित्र बनाउन रुचाउने । बरु घरको काम बितोस् मतलब हुन्न उहाँलाई । सायद उहाँ अरूका निंंति काम गर्न चाहनुहुन्छ । झन्डै २ वर्ष हुन लागेको भयानक कोरोनाको महामारीमा पनि उहाँमा न कुनै डर न कुनै त्रास । पब्लिक गाडीमा भएपनि पैदल भएपनि गन्तव्यमा पुगी नछोड्ने उहाँको निश्चिन्त आदत ।    
    कविता, संस्मरण, समालोचना, भूमिका आदि उत्तिकै लेख्न भ्याउने, पढ्न भ्याउने, भजन कीर्तनमा सहभागी हुन भ्याउने, उपचार पद्घतिबारे बताउन भ्याउने, घरमा बेलाबेला चिया पकाउन भ्याउने, बोलाएका ठाउँमा आउँदिन भन्न नखोज्ने, यो उमेरमा यस्तो सक्रिय जीवन बिताइरहनु भएर नै होला यो वर्ष वहाँलाई  शब्दयात्रा प्रकाशनले कर्मशीलता पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय गरेको कुरा मैले सुनेको छु । स्वतन्त्र पत्रकार महासंघ भक्तपुरले केही दिन अघिमात्र उहाँलाई पत्रकारिता क्षेत्रमा उहाँले पु–याएकोे योगदानबापत उहाँलाई सम्मानित गरिसकेकोछ । अझै उहाँ कति सम्मानित हुनुहुने छ भविष्यमा अहिल्यै भन्न सकिन्न ।
    उहाँको दीर्घजीवन, सुस्वाथ्य एवम् आरोग्यताको कामना गरिरहूँ । उहाँमा यथावत् सिर्जनशीलता, कर्मशीलता र मानवहितकारी भावना उसरी नै झ्याङगिइरहोस्, पलाइरहोस् यही शुभेच्छा प्रकट गरूँ !

 

...

All Comments.......


Please Login/Register To Comments