शाक्यमुनी बुद्धले बोधिज्ञान प्राप्त गरिसकेपछि विकसित भएको मार्गहरुमा श्रावकयान, महायान र बज्रयान प्रमुख हुन । काठमाडौ उपत्यकामा अपनाइने बज्रयान परम्परा अनुसार गरिने विभिन्न चर्याहरुमा दानपारमिता प्रमुख हुन । प्राचिनकाल देखि नै विभिन्न तरिकाबाट दान दिने अभ्यास गर्दै आएका छन । दानको अभ्यासलाई बिशेष दिन पारेर पर्वको रुपमा विकसित गरेका छन । यस्तै पर्वहरु मध्य एक हुन पञ्चदान । नेपाल भाषामा पञ्चदानलाई पंञ्जराँ भनिन्छ । पञ्चदान भन्नाले गृष्म मौसमका पाँच खाद्यान्न दान भन्ने बुझिन्छ । यस मौसमका पाँच खाद्यान्नहरुमा चामल, धान, नुन, मकै, र दाल हुन । पञ्जराँलाई पुण्यदान अर्थात पुण्यजा वा पिण्डजा भन्ने भावार्थ डा. रञ्जना बज्राचार्यले “पञ्चदान र बौद्ध पर्व“ नामक पुस्तकमा उल्लेख गरेको पाइन्छ । पञ्जराँको मुख्य अर्थ खिर भएकोले यस दिन नेवार जातिले खीर पकाएर पिण्डपात्र (गुलुपा) मा राखी बुद्धलाई चढाउने र सबैलाई खुवाउने चलन छ ।
यो पर्व पाटनमा नेपाल सम्बत ५१२ श्रावण शुक्ल अष्टमीका दिन देखी मनाउन थालेको हो भने काठमाडौ, भक्तपुर, बनेपा, पनौती, किर्तिपुर, नाला र चीनको ल्हासामा नेपाल सम्बत ७७५ भाद्र कृष्ण त्रयोदशीका दिन देखि मनाउन थालेको हो । काठमाडौं उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहँदै आएको छ । राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले पञ्चदान प्रचलनमा ल्याएको थियो । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइन्छ ।
दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला बाजा, दाफा भजन श्रृङ्गभेरी बाजा आदि सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ । त्यस्तै परम्परागत विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गरिन्छ ।
भक्तपुर नपा १० क्वाठण्डौ स्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, तिनख्यः स्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गरिनुअघि यी पाँच दीपंकरहरुलाई भक्तपुर नपा ९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराइन्छ । त्यहाँ विशेष पूजा सम्पन्न भएपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइन्छ ।
ती दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने प्रचलन रहँदै आएको छ । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सकिन्छ । तर दीपंकरहरुलाई संयुक्त पञ्चदान पर्व भने भक्तपुर नपा ५ स्थित टौमढीमा समापन गरिन्छ । टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर उल्लासमय वातावरणमा उक्त संयुक्त पञ्चदान गरिन्छ ।
उक्त अवसरमा टौमढीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने गर्छन् ।

...

All Comments.......


Please Login/Register To Comments