कदम बाबा! मेरी अर्धाङ्गिणी प्रिया !
.... यदि म आज मरें भने तिमिलाई कस्तो लाग्ला?
......... दाईको कलम नै कदम हो, अनि कदम भन्नू नै दाईको आफ्नो कलम हो । यसरी कदम हुन कलम, कलम अनि कदम ।
२०७८ बैशाख १४ गते दिवंगत हुनुभएका धर्मपत्नी कदम केशरीज्युको स्मृतिमा  ईतिहासविद हरिराम जोशीज्युले समर्पित गर्नुभएको आत्मालापको अनुभूति हुन माथिका अंशहरु ।
२०१७ सालयता ६ दशकको यात्रापछिको बियोगलगत्तैपनि आफ्ना कलम–कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको  प्रेमलाई जीवन्तता प्रदान गर्नुकासाथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गर्नुभएको “कदमः अभिनव मेरा अनुभूति“ वैदिक साहित्यिक कृतिको मंगलबार आफ्नै निवासमा लोकार्पण गर्नुभएको छ ।
बुबाको मुख हेर्ने दिनको पावन अवसरमा आफ्ना बुबा आमा र धर्मपत्नीको फोटोहरुमा माल्यार्पण गर्दै थालिएको कार्यक्रममा सो कृतिको बिमोचन उहाँकै मामा ऋषिराम बैद्यज्युको हातबाट गराइएको  हो ।
कोभिड १९ संक्रमण परिस्थितीलाई ध्यानमा राखी सिमित हितैषीहरुबीच आयोजित कार्यक्रममा बिमोचित कृतिको बिशेषतामा बोल्नुहुँदै इतिहासकार एवम् प्राध्यापक पुरूषोत्तमलोचन श्रेष्ठज्युले आफ्ना गुरुबा र दिवंगत कदमज्युलाई गुरुआमाका रूपमा पाएको गुणानुस्मरण  गर्नुभयो ।
कार्यक्रममा डा. नयराज पौडेलज्युले पनि सम्बोधन गर्नुभएको थियो भने इतिहासविद जोशीज्युको माहिली बुहारी बिन्दुबाबा जोशीज्युले बिमोचित कृतिको दुई गद्य कविताहरुको वाचन गर्दै कृतज्ञता ब्यक्त गर्नुभयो ।
इतिहास, संस्कृति र पुरातात्विक पक्षलाई भौतिकवादी दृष्टिले प्रमाणसहित प्रस्तुत गर्ने फरक धारका ईतिहासविद जोशीज्युको यो २९औं प्रकाशित कृति हो भने धर्मपत्नी कदमप्रति समर्पित गर्नुभएको यो दोश्रो कृति हो । यस अघि “डिमेन्सिया“ रोगका कारण उपचाररत रहेका उनीप्रति समर्पित “मेरा अनुभूतिहरु“ २०७८ साल बैशाख ५ गते भक्तपुरमा लोकार्पण गरिएको थियो । कार्यक्रममा विभिन्न समाजका प्रतिष्ठित ब्यक्तिहरुकोसाथै ललितपुर उद्योग बाणिज्य संघका पुर्वाध्यक्षद्वय अजरमान जोशी र सबिन श्रेष्ठको समेत समुपस्थिती रहेको थियो ।
हरिराम जोशी टङ्गाल, ललितपुरमा वि.सं. १९९२ साल फागुन २६ गते जन्मेका हुन्। बुबा भारथराम जोशी हो र आमा यमकुमारीका सुपुत्र उहाँलाई २०५९ साल आश्विन २२ गते आयोजित समारोहमा ‘अभिनव संस्कृति कोष’ ग्रन्थको लागि ‘मदन पुरस्कार २०५८’ बाट सम्मानित गरिएको थियो ।
“चाडपर्वहरू हाम्रा सांस्कृतिक अमूल्य निधि हुन्, हाम्रा पुर्खाका विरासतको ठीक ठीक मूल्याङ्कन नगरी टुलुटुलु हेरेर झाराटारे त्यसको अवमूल्यन हुन्छ ।“ भन्ने स्पष्ट बिचारका धनी उहाँले ईतिहास शिरोमणि सम्मान प्राप्त गरिसकेका छन । २०१५ सालमै ‘बहिनी पुजा’ कृति प्रकाशित गरेका उनले आफूले एकातिरबाट  “भाईपूजा“ सम्मान गराउने तर दिदीबहिनीलाई सम्मान नगर्ने गर्दा त्यो समानता हुँदैन भन्ने नारीवादी चिन्तनलाई पनि प्राथमिकता दिदैं आएकाछन ।
तीन दशकसम्म निरन्तर रहेको नेपालको संस्कृति, सम्पदा र इतिहाससम्बन्धी एउटा उच्च कोटीको अनुसन्धानमूलक पत्रिका रोलम्ब जर्नल  उनकै सम्पादनमा प्रकाशित भएका हुन।...

All Comments.......


Please Login/Register To Comments